सुर्खेत ।कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।
बुधबार प्रदेशसभामा भएको मतदानमा ३६ जना सांसद उपस्थित थिए। त्यसमध्ये मुख्यमन्त्री शाहीको पक्षमा २१ मत, विपक्षमा १३ मत परेको छ भने २ जना सांसद तटस्थ बसेका छन्।
प्रदेशसभामा विश्वासको मत प्राप्त गरेसँगै मुख्यमन्त्री शाही नेतृत्वको सरकारलाई निरन्तरता पाउने बाटो खुलेको छ। यसअघि मुख्यमन्त्री शाहीले सुशासन, विकास र बजेटको प्रभावकारी कार्यान्वयनलाई सरकारको प्रमुख प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
उनले कर्णालीको वास्तविक प्रतिपक्ष गरिबी, बेरोजगारी, अशिक्षा र पछौटेपन भएको भन्दै सबै राजनीतिक दलसँग सहकार्य गरेर प्रदेशको विकास र समृद्धिमा अघि बढ्ने बताएका थिए।
अब सरकारसमक्ष प्रदेशसभाबाट पारित बजेटको प्रभावकारी कार्यान्वयन, मन्त्रिपरिषद् विस्तार, सुशासन कायम तथा विकास निर्माणलाई गति दिने प्रमुख चुनौती रहेको छ।








