नागरिक–जनप्रतिनिधिबीच प्रत्यक्ष संवाद, सेवा सुधारको प्रतिबद्धता
कालिकोट । शुभकालिका गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा तथा आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक प्रगतिको विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। २०८२ सालमा आयोजित उक्त कार्यक्रम शुभकालिका गाउँपालिकाको आयोजनामा तथा रेडियो शुभकालिका एफ.एम. ९९.१ मेगाहर्ज, कालिकोटको सहजीकरणमा सम्पन्न भएको हो।

सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद आचार्य प्रमुख जवाफदेही वक्ताका रूपमा उपस्थित रहनुभएको थियो। साथै, गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाही र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रप्रसाद चौलागाई विशेष जवाफदेही वक्ताका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा वडा अध्यक्षहरू, गाउँपालिकाका कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, पत्रकार तथा सर्वसाधारण नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागी नागरिकहरूले शिक्षा, स्वास्थ्य सेवा, सडक पूर्वाधार, खानेपानी, कृषि, रोजगारी सिर्जना, बजेट कार्यान्वयन तथा सेवा प्रवाहमा देखिएका ढिलाइ र कमजोरीबारे प्रश्न तथा गुनासो राखेका थिए।
सार्वजनिक सुनुवाइमा सहभागी स्थानीय नागरिक खडानन्द अधिकारीले योजनाहरू व्यवहारमा देखिनुपर्ने आवश्यकता औंल्याउँदै भन्नुभयो, “योजनाहरू कागजमै सीमित नभई समयमै कार्यान्वयन होस्। जनतालाई सहज, छरितो र पारदर्शी सेवा चाहिएको छ।” नागरिकका प्रश्न तथा सुझावहरूको जवाफ दिँदै गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद आचार्यले पालिकाले सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पार्नुभयो। “नागरिकका गुनासो र सुझाव हामीका लागि मार्गदर्शन हुन्। सीमित स्रोतसाधनका बाबजुद पनि जनअपेक्षाअनुसार सेवा प्रवाह गर्न निरन्तर प्रयासरत छौं,” अध्यक्ष आचार्यले बताउनुभयो।
उपाध्यक्ष धर्मकला शाहीले महिलामैत्री कार्यक्रम, सामाजिक सुरक्षा तथा लक्षित वर्ग केन्द्रित योजनाहरूलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गरिने प्रतिबद्धता जनाउनुभयो। “महिला, दलित, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक तथा विपन्न वर्गलाई लक्षित कार्यक्रमलाई परिणाममुखी बनाइनेछ,” उहाँले भन्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रप्रसाद चौलागाईले प्रशासनिक प्रक्रिया सरल बनाउने, बजेट समयमै कार्यान्वयन गर्ने तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन कर्मचारी संयन्त्रलाई थप चुस्त र जवाफदेही बनाइँदै गएको जानकारी दिनुभयो।
कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा पूर्व कृषि मन्त्री माननीय कुर्मराज शाहीले सार्वजनिक सुनुवाइले जनप्रतिनिधि र नागरिकबीचको दूरी घटाउने उल्लेख गर्दै यसलाई सुशासनको महत्वपूर्ण अभ्यासको रूपमा लिनुपर्ने धारणा राख्नुभयो।
“जनताका गुनासोलाई योजनामा रूपान्तरण गरी कार्यान्वयनमा लैजान सके मात्र सार्वजनिक सुनुवाइ सार्थक हुन्छ,” उहाँले सुझाव दिनुभयो।
त्यस्तै, नेपाली कांग्रेसका जिल्ला उपसभापति नन्द बहादुर शाही ‘घमन’ले सार्वजनिक सुनुवाइ लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण माध्यम भएको बताउनुभयो।
“जनताको आवाज सुन्ने र त्यसको जवाफ दिने संस्कारले मात्र स्थानीय सरकार बलियो बन्छ। यस्ता कार्यक्रम औपचारिकतामा सीमित नराखी व्यवहारमा लागू गर्नुपर्छ,” उहाँको भनाइ थियो।
कार्यक्रमको अन्त्यमा सहभागी नागरिकहरूले सार्वजनिक सुनुवाइ जस्ता कार्यक्रमले स्थानीय सरकारलाई थप उत्तरदायी र पारदर्शी बनाउने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमलाई नियमित र निरन्तर रूपमा सञ्चालन गर्न माग गरेका छन्।







