मुगु। मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकाले सञ्चार क्षेत्रको विकास र सुदृढीकरणमा योगदान पुर्याउने उदाउँदै गरेका पत्रकारलाई सम्मान गरेको छ।
नगरपालिकाको १८औँ नगर अधिवेशन तथा विधेयक सभाको शुभारम्भका अवसरमा सञ्चारकर्मी रतन रावत लाई उत्कृष्ट पत्रकारिता कार्यको कदर गर्दै सम्मानपत्र प्रदान गरिएको हो।
पाँच वर्षदेखि निरन्तर पत्रकारिता तथा सञ्चार क्षेत्रमा सक्रिय रावतले गाउँ–ठाउँका आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउँदै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्दै आएका छन्। समाज रूपान्तरण र जनचेतनाको क्षेत्रमा पत्रकारितामार्फत पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नगरपालिकाले उनलाई सम्मान गरेको जनाएको छ।
सम्मानपत्र प्रदान गर्दै नगर प्रमुख विष्णुकुमार भाम ले सत्य–तथ्य र निष्पक्ष पत्रकारितामा रावतको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उज्ज्वल भविष्यको कामना सहित बधाई ज्ञापन गर्नुभयो। उहाँले यस्ता सम्मानले सञ्चार क्षेत्रलाई अझ सबल, उत्तरदायी र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो।
सम्मान ग्रहणपछि प्रतिक्रिया दिँदै पत्रकार रतन रावतले यो सम्मान आफ्नो पत्रकारिता यात्राको पहिलो तथा चुनौतीपूर्ण उपलब्धि भएको बताउँदै आगामी दिनमा अझ जिम्मेवार र सशक्त पत्रकारिता गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यसै अवसरमा नगरपालिकाले अन्य स्थानीय तहलाई सहयोग तथा सल्लाह सुझाव प्रदान गर्ने व्यक्ति र आफ्नो कर्तव्यमा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरूलाई समेत सम्मान गरेको छ।
पत्रकार रावत मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं. ८, झ्यारीगाउँ निवासी हुन्। उनको जन्म वि.सं.२०५८ साल माघ २३ गते स्वर्गीय बुवा गोरखबहादुर रावत र आमा पांचरा रावत को कान्छा छोराको रूपमा भएको हो।








