कालिकोट। स्वास्थ्य, शिक्षा, उत्पादन तथा आपूर्ति, रोजगारी, जीविका, पूर्वाधार र समृद्धिलाई मूल नाराका रूपमा अघि सार्दै शुभकालिका गाउँपालिकाको १४औँ गाउँसभा हिउँदे अधिवेशन सम्पन्न भएको छ।
गाउँपालिकाको आयोजनामा गाउँसभा हलमा सम्पन्न अधिवेशन गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाहीको आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रप्रसाद चौलागाईंको विशेष आतिथ्य रहेको थियो। अधिवेशनमा शुभकालिका गाउँपालिका वडा नं. १ देखि ८ सम्मका सबै वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, पत्रकार, शिक्षक तथा बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अधिवेशनलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष आचार्यले स्वास्थ्य, शिक्षा, उत्पादन र रोजगारीलाई प्राथमिकतामा राख्दै स्थानीय तहको दिगो विकास र समृद्धिका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताए। उनले जनताको आवश्यकता, सुझाव र अपेक्षाका आधारमा नीति तथा कार्यक्रमहरू कार्यान्वयन गरिने स्पष्ट पारे।
यस्तै, उपाध्यक्ष शाहीले पारदर्शिता, सहभागितामूलक विकास र प्रभावकारी सेवा प्रवाहलाई सुदृढ बनाउँदै गाउँपालिका अगाडि बढिरहेको उल्लेख गरिन्। स्थानीय तहलाई जनउत्तरदायी र समावेशी बनाउनेतर्फ गाउँपालिकाको ध्यान केन्द्रित रहेको उनको भनाइ थियो।







