सुर्खेत महिला जेसीज अध्यक्ष सुनारको राजनीतिक उदय, रास्वपा प्रदेश सदस्यमा विजयी

  ।   ३ असार २०८३, बुधबार ०८:५६

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको प्रथम महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा महिला सदस्यतर्फ मन कुमारी सुनार (मनु) २४० मत प्राप्त गर्दै विजयी भएकी छन्।

निर्वाचन परिणामअनुसार निर्मला शाहीले २७४, सरस्वती बुढाले २७३, मन कुमारी सुनार (मनु) ले २४०, सिलु थापाले २०७, देवी विकले २०३, खगिसरा बुढाले १९९ र राधा कुमारी ढकालले १९३ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।

महिला नेतृत्व, सामाजिक उत्तरदायित्व तथा संगठन विस्तारका क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएकी मनु सुनारको विजयलाई कर्णालीमा रास्वपाका महिला सदस्यहरूको विश्वास र समर्थनको रूपमा हेरिएको छ। उनी हाल सुर्खेत महिला जेसीज वर्ष २०२६ की अध्यक्ष समेत हुन्।

निर्वाचनमा विजयी भएपछि मनु सुनारले आफूलाई विश्वास गरेर मत दिने सम्पूर्ण प्रतिनिधि, पार्टी नेतृत्व तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै यो जिम्मेवारीलाई जनताको अपेक्षाअनुसार पूरा गर्ने प्रतिबद्धता जनाइन्।

उनले भनिन्, `यो विजय मेरो मात्र होइन, परिवर्तन, सुशासन र समावेशी नेतृत्वको पक्षमा उभिएका सम्पूर्ण साथीहरूको साझा जित हो। पार्टीले दिएको जिम्मेवारीलाई इमान्दारीका साथ निर्वाह गर्दै संगठन विस्तार, महिला सहभागिता अभिवृद्धि र जनताका मुद्दालाई प्रभावकारी रूपमा उठाउन प्रतिबद्ध छु।´

सुर्खेत महिला जेसीजको अध्यक्षका रूपमा समेत सक्रिय रहेकी उनले जेसीजमार्फत नेतृत्व विकास, सामाजिक सेवा र युवाको क्षमता अभिवृद्धिमा काम गरिरहेको उल्लेख गर्दै ती अनुभवलाई राजनीतिक क्षेत्रमा समेत उपयोग गर्ने बताइन्।

`जेसीजले मलाई नेतृत्व, सेवा र सकारात्मक परिवर्तनको संस्कार दिएको छ। अब यही अनुभवलाई समाज र कर्णालीको विकासमा प्रयोग गर्दै युवाहरू र महिलाहरूलाई नेतृत्वमा स्थापित गर्न तथा समृद्ध प्रदेश निर्माणका लागि सक्रिय रूपमा काम गर्नेछु,´उनले भनिन्।

रास्वपा कर्णाली प्रदेशको नयाँ नेतृत्वमा मनु सुनारको प्रवेशसँगै महिला नेतृत्व, युवा सहभागिता र संगठन विस्तारका अभियानले थप गति लिने अपेक्षा गरिएको छ।

Next Post

नदि किनारमा ५५ वर्षीया महिला मृत अवस्थामा फेला

३ असार २०८३, बुधबार ०८:५६
सुर्खेत । सुर्खेतको लेकबेसी नगरपालिका–१ टोप्रेकी ५५ वर्षीया चन्द्रकला कसेरा मृत अवस्थामा फेला परेकी छन्। प्रहरीका अनुसार कसेरा असार २ गते बिहान करिब ७ बजे ‘भान्जीको घर जान्छु’ भन्दै घरबाट निस्किएकी थिइन्। तर उनी भान्जीको घरमा नपुगेपछि परिवारजन तथा आफन्तहरूले खोजी कार्य सुरु गरेका थिए। खोजतलासका क्रममा उनको शव लेकबेसी–१ […]