अपडेट

अर्बौँको क्षति बोकेको जेन–जी आन्दोलन : सुर्खेत बन्यो सबैभन्दा ठूलो संकटको केन्द्र

  ।   १ आश्विन २०८२, बुधबार १७:४६

सुर्खेत। भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनले कर्णाली प्रदेशलाई ठूलो आघात पुर्‍याएको छ। दुई दिनसम्म चलेको प्रदर्शन, आगजनी र तोडफोडका कारण सरकारी तथा निजी सम्पत्तिमा अर्बौँ रुपैयाँ बराबरको क्षति पुगेको छ। इन्सेक (अनौपचारिक क्षेत्र सेवा केन्द्र) को अनुगमन अनुसार, कर्णालीका १० जिल्लामध्ये पाँच जिल्लामा क्षति व्यापक छ। विशेषगरी सुर्खेत, जुम्ला, कालिकोट, मुगु र डोल्पामा सरकारी कार्यालयदेखि पार्टी कार्यालय, जनप्रतिनिधिका निजी घर र विभिन्न संस्थागत संरचनासम्म आक्रमणमा परेका छन्।

कर्णालीको राजधानी वीरेन्द्रनगर केन्द्र बनेर आन्दोलनकारीहरूले सबैभन्दा धेरै क्षति पुर्‍याएका छन्। इन्सेकले संकलन गरेको विवरणअनुसार, मात्र सुर्खेतमै ४४ वटा संरचना तोडफोड वा आगजनीमा परेका छन्। प्रदेश सभा भवन, सिटी हल, वीरेन्द्रनगर नगरपालिकाको कार्यालय, नापी कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय लगायतका मुख्य कार्यालयहरूमा आगजनी भएको छ। त्यस्तै, मुख्यमन्त्री, कृषिमन्त्री, भौतिक मन्त्री र नगरप्रमुखलगायत उच्च पदस्थ व्यक्तिहरूको निजी निवासमा समेत आक्रमण गरिएको छ। कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र जनमोर्चाका पार्टी कार्यालयसमेत जलेका छन्। प्रदेश सभाभित्र रहेको एनआईसी एशिया बैंकको एटीएम जलाइएको छ भने सभाभवनको सम्पूर्ण संरचना ध्वस्त भएको अनुमान गरिएको छ।

सुर्खेतमा मात्रै ११ सरकारी गाडी, ८ मोटरसाइकल, २ निजी गाडी र ५ निजी मोटरसाइकल जलेका वा तोडिएका छन्। जुम्लामा १ सरकारी कार्यालय, ५ दलका पार्टी कार्यालयसहित ६ संरचना क्षतिग्रस्त भएका छन्। त्यहाँका ८ सरकारी गाडी, ११ मोटरसाइकल, एम्बुलेन्स, शववहान र दमकलसमेत नष्ट भएका छन्। कालिकोटमा विभिन्न सात दलका कार्यालय जलाइएका छन्। मुगुमा कांग्रेस र एमालेका कार्यालय तोडफोडमा परे भने छायानाथ रारा नगरपालिकाको कार्यालयमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर जलाइएको छ। डोल्पाको त्रिपुरासुन्दरीमा कांग्रेसको कार्यालय रहेको घर तोडिएको छ।

आन्दोलनका कारण अर्बौ बराबरको सार्वजनिक तथा निजी सम्पत्ति नोक्सानीमा परेका छन्। धेरै कार्यालयमा सेवा प्रवाह ठप्प भएको छ। प्रभावित जिल्लामा विद्यालयदेखि खानेपानी कार्यालय र पुस्तकालयसम्म सञ्चालनमा समस्या परेको छ।

Next Post

सुर्खेतका पाँच प्रमुख राजनीतिक दलहरू एउटै स्वरमा उत्रिए

१ आश्विन २०८२, बुधबार १७:४६
सुर्खेत । प्रतिनिधिसभा विघटनविरुद्ध सुर्खेतका पाँच प्रमुख राजनीतिक दलहरू एउटै स्वरमा उत्रिएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले संयुक्त वक्तव्य जारी गर्दै संसद् विघटनलाई संविधानको सर्वोच्चतामाथि भएको गम्भीर प्रहार भन्दै आपत्ति जनाएका हुन्। नेकपा एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले यो कदमप्रति गम्भीर असहमति […]