सुर्खेत । प्रतिनिधिसभा विघटनविरुद्ध सुर्खेतका पाँच प्रमुख राजनीतिक दलहरू एउटै स्वरमा उत्रिएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले संयुक्त वक्तव्य जारी गर्दै संसद् विघटनलाई संविधानको सर्वोच्चतामाथि भएको गम्भीर प्रहार भन्दै आपत्ति जनाएका हुन्।
नेकपा एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले यो कदमप्रति गम्भीर असहमति प्रकट गर्दै विधायिकालाई कमजोर पार्ने प्रयास स्वीकार्य नभएको बताए। त्यस्तै, नेपाली कांग्रेस सुर्खेतका उपसभापति टोपबहादुर रावतले जनताको बलिदान र लामो संघर्षबाट जन्मिएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमाथि प्रहार हुने कुनै पनि गतिविधि मान्य नहुने स्पष्ट सन्देश दिएका छन्।
दलहरूले संयुक्त विज्ञप्तिमा वर्तमान परिस्थिति विषम रहेको उल्लेख गर्दै राष्ट्रियता र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सबै राजनीतिक शक्ति एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याएका छन्। साथै, आन्दोलनका नाममा भएको सार्वजनिक सम्पत्ति, ऐतिहासिक धरोहर, दलका कार्यालय र निजी सम्पत्तिमा गरिएको तोडफोड, आगजनी, लुटपाट तथा हिंसात्मक घटनाबारे पनि गम्भीर आपत्ति व्यक्त गर्दै त्यस्ता गतिविधिको कडा निन्दा गरेका छन्।







