जुम्ला । जुम्लाको कृषि क्षेत्र अहिले तीव्र रूपमा यान्त्रीकरणतर्फ मोडिएको छ। परम्परागत हल गोरुमा आधारित खेती महँगो, समय खपत हुने र उत्पादन न्यून हुने समस्यासँगै, दुई वर्षअघि फैलिएको लम्पी स्किन रोगले गोरु मारिनु प्रमुख कारण बनेको किसानहरू बताउँछन्। लम्पी रोगका कारण जुम्लामा मात्रै ५६७ वटा गाईवस्तु मरे, जसमा खेतीमा प्रयोग हुने १७० वटा गोरु पनि परे। तीमध्ये ८५ हल गोरु गुमेपछि खेतीपातीमा ठूलो संकट उत्पन्न भयो। गोरुको कमीले उत्पादन घटेपछि किसानहरू क्रमशः आधुनिक प्रविधितर्फ आकर्षित भएका हुन्।
परम्परागत हलो–कोदालो साटेर अहिले किसानले मिनि टिलर प्रयोग गर्न थालेका छन्। राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम जुम्लाले जिल्लाका आठै पालिकामा समूहगत रूपमा मिनि टिलर वितरण गर्दै आएको छ। कार्यक्रम प्रमुख सन्तोष कुमार चौधरीका अनुसार मिनि टिलरले न्यून लगानी, कम श्रम र छोटो समयमा बढी काम गर्न सकिने भएकाले किसानको आकर्षण बढेको छ। तातोपानी गाउँपालिका–२ की रुपा रावतले टिलरको प्रयोगले महिलामाथि पर्ने कार्यभार पनि कम भएको बताइन्। पहिले हल गोरु सम्हाल्नुपर्ने, बाली रोप्ने र भित्र्याउने अधिकांश जिम्मेवारी महिलामाथि पर्थ्यो। अहिले मिनि टिलरले काम सजिलो र छिटो भएको उनीहरूको अनुभव छ।
२०७४/०७५ देखि सुरु गरिएको अनुदान योजनाअन्तर्गत सात वर्षमा ३३९ वटा मिनि टिलर वितरण गरिएको छ। तथ्यांकअनुसार २०७४/०७५ मा २२, २०७५/०७६ मा ४८, २०७६/०७७ मा ४६, २०७७/०७८ मा ४२, २०७९/०८० मा ५८, २०८०/०८१ मा ६० र गत वर्ष २०८१/०८२ मा ६३ वटा मिनि टिलर किसानलाई प्रदान गरिएको छ। २०७८/०७९ मा भने वितरण गरिएको थिएन। ५० प्रतिशत अनुदानमा पाएका किसानले राहत अनुभव गरेको तातोपानी–२ का दत्त बुढाले बताए। उनका अनुसार, “हलो जोत्न गोरु खोज्नैपर्थ्यो, दुःख पनि धेरै हुन्थ्यो। अहिले मिनि टिलरले काम सजिलो मात्र होइन, समय पनि बचत हुन्छ।”
तर यान्त्रीकरणसँगै चुनौती पनि देखिएको छ। जिल्लामा वितरण गरिएका धेरै मिनि टिलर मर्मत अभावका कारण प्रयोगविहीन अवस्थामा छन्। किसानलाई प्रयोग विधि वा मर्मतबारे पर्याप्त तालिम नदिएकाले समस्या बढेको हो। तातोपानी–५ का टक्क नेपालीका अनुसार, केही मिनि टिलर सानोतिनो मर्मत गरेर प्रयोगमा ल्याइएका भए पनि अधिकांश गाउँमा उपकरण थन्किएका छन्। किसान शुर बुढाले आफ्ना टिलर दुई वर्षदेखि बिग्रिएको र मर्मत गर्न नपाएर प्रयोगमै ल्याउन नसकेको गुनासो गरे। स्थानीय किसानहरूले मिनि टिलर वितरणसँगै मर्मत तथा सञ्चालन तालिम अनिवार्य दिनुपर्ने माग गरेका छन्। नत्र भने १–२ वर्षमै उपकरण बिग्रने र फेरि थन्किने समस्या दोहोरिन सक्ने चिन्ता उनीहरूको छ।







