बोलेरो दुर्घटना: ३ जनाको मृत्यु, ५ जना घाइते

  ।   १८ जेष्ठ २०८३, सोमबार १५:४७

दैलेख । सुर्खेतबाट कालिकोटको शुभकालिका गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो जिप दैलेखको भैरबी गाउँपालिका अन्तर्गत काल्गौडी क्षेत्रमा दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुर्घटनामा मृत्यु हुने र घाइते हुनेहरूको पहिचान हालसम्म खुल्न सकेको छैन। दुर्घटनापछि स्थानीयवासी, प्रहरी तथा उद्धार टोलीको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल दैलेख पठाइएको छ।
प्रहरीका अनुसार घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको बताइएको छ।

दुर्घटनाको कारण हालसम्म खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी सन्तोष रोकायाले जानकारी दिएका छन्।

यस दुर्घटनाले स्थानीय क्षेत्रमा शोकको वातावरण सिर्जना गरेको छ। मृतकहरूको पहिचान तथा दुर्घटनासम्बन्धी थप विवरण प्राप्त भएपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।