बिहीबार अवरुद्ध भएको इन्टरनेट सेवा चल्यो

  ।   २१ बैशाख २०८१, शुक्रबार १३:१०

काटमाडौं । बिहीबार अवरुद्ध भएको इन्टरनेट सेवा चल्न थालेको छ । वर्ल्डलिंक, सुबिसु, भायानेट सहितका सेवा प्रदायकहरुले इन्टरनेट सेवा पुनर्स्थापित भएको सूचना जारी गरेका छन् । तर यो स्थायी हो वा अस्थायी समाधान हो भन्ने उनीहरुले खुलाएका छैनन् ।

विहीबार दिउँसोदेखि अन्तर्राष्ट्रिय ब्याण्डविथ प्रदायकले इन्टरनेट सेवा बन्द गरिदिएका थिए । त्यसबाट सेवाग्राहीहरु मर्कामा परेका थिए । भारतीय ब्याण्डविथ बिक्रेतालाई तिर्न बाँकी बक्यौता यथाशक्य चाँडो भुक्तान गर्ने नेपालका आईएसपीहरुको सामूहिक प्रतिबद्धतापछि मध्यरातिबाट इन्टरनेट सेवा सुचारु भएको हो ।

‘प्रभावित सबै आईएसपीहरुले रोकिएको भुक्तानी यथाशक्य चाँडो गरिदिने भन्दै प्रतिबद्धता पत्र पठाएपछि उनीहरु सेवा सुचारु गर्न तयार भएका हुन् ।
९ महिनादेखिको ब्याण्डविथको पैसा पठाउन नेपाल सरकारले रोकेपछि भारतीय कम्पनीहरुले हिजो अपरान्ह ४ बजेदेखि ब्याण्डविथ सप्लाई बन्द गरेका थिए ।

सरकार र आईएसपीहरुबीच विवादले उपभोक्तालाई दुःख भएको भन्दै उनले ग्राहकलाई दुःख नदिउँ भन्दै अनुरोध गरेपछि केही दिनका लागि सेवा सुचारु गर्न भारतीय कम्पनीहरु तयार भएको उनले बताए ।

वर्ल्ड लिंक नेपालका सीईओ केशव नेपालले पनि इन्टरनेट सेवा अवरुद्ध नगर्न आग्रह गर्दै पत्र पठाएपछि सेवा पुनर्स्थापित भएको जानकारी दिए । ‘तिमीहरुले यसरी इन्टरनेट बन्द गर्न पाउँदैनौं भनेर चेतावनीयुक्त पत्र पठाएपछि सेवा सुचारु भयो,’ उनले भने ।

विहीबार बेलुका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गरी नियमानुसार शुल्क तथा रोयल्टी बुझाउन र इन्टरनेट जस्तो अत्यावश्यक सेवा अवरुद्ध नगर्न सेवा प्रदायकलाई अनुरोध गरेको थियो । मन्त्रालयले कानुनी व्यवस्था सम्झाउँदै उक्त अनुरोध गरेको केही घण्टापछि नै इन्टरनेट चल्न थालेको थियो ।

नेपालमा प्रमुख ब्याण्डविथ प्रदायकले एयरटेल, टाटा, रिलायन्स लगायत कम्पनीबाट ब्याण्डविथ आयात गर्दछन् र नेपालमा इन्टरनेट सेवा उपलब्ध गराउँछन् । नेपालमा इन्टरनेट सेवा प्रदायक कतिपय कम्पनीहरुले सरकारलाई सेवा शुल्क र रोयल्टी वापतको रकम बुझाएका छैनन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मर्मत सम्भार शीर्षक अन्तर्गतको बेरुजु बक्यौता नतिरेको भन्दै तिर्न ताकेता गरिरहेको छ । तर, इन्टरनेट सेवा प्रदायकहरूले मर्मत सम्भार दूरसञ्चार सेवा अन्तर्गत नपर्ने अडान राख्दै आएका छन् । उनीहरूले दूरसञ्‍चार प्राधिकरणले मर्मत सम्भारबाट लिएको शुल्क बाहेकको आम्दानीबाट रोयल्टी र आरटीडीएफ ९ग्रामीण दूरसञ्चार विकास कोष० दस्तुर मात्र बुझाउँदै आएका छन् ।

सरकार र इन्टरनेट सेवा प्रदायकबीचको यही विवादका कारण अन्तर्राष्ट्रिय ब्याण्डविथ प्रदायकले भुक्तानी पाएका छैनन् । नेपालका इन्टरनेट सेवा प्रदायकहरुले भारतको एयरटेलबाट लिएको ब्याण्डविथको एक वर्षदेखि पैसा तिर्न नपाएकाले उसले ताकेता गरिरहेको र जुनसुकै बेला इन्टरनेट अवरुद्ध हुन सक्ने बताउँदै आएका थिए ।

विहीबार अपराह्न करिब चार बजेतिर नेपालभर इन्टरनेट सेवा प्रभावित भएपछि गएराति नेपाल दुरसञ्चार प्राधिकरणका कर्मचारीहरु भायानेट लगायतको कार्यालयमा पुगेर त्यसको कारणबारे सोधपुछ गरेका थिए । उनीहरुले यतैबाट इन्टरनेट काटिएको हो कि विदेशबाटै हो भन्नेबारे जिज्ञासा राखेका थिए ।

 

Next Post

पत्रकार महासंघको २७ औं अधिवेशन प्रधानमन्त्री ‘प्रचण्ड’द्धारा उद्घाटन

२१ बैशाख २०८१, शुक्रबार १३:१०
काठमाडौं । नेपाल पत्रकार महासंघको २७ औं अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिवेशनको उद्घाटन गरेका छन्। अधिवेशनमा देशभरका विभिन्न शाखाका राष्ट्रिय परिषद् सदस्यहरू सहभागी छन्। यसअघि विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आजै बिहान महासंघको अगुवाइमा प्रभातफेरी आयोजना गरिएको छ। महासंघको २७औं अधिवेशन समेतका अवसरमा आयोजित प्रभातफेरी […]