सुर्खेत । कर्णाली प्रदेशस्तरीय युवा मानवअधिकार रक्षकहरूको दुई दिने सम्मेलन शुक्रबार सुर्खेतमा सम्पन्न भएको छ । सम्मेलन दिगो विकास लक्ष्य (SDGs) कार्यान्वयनमा युवा मानवअधिकार रक्षकहरूको भूमिका, राज्यको दायित्व, सुरक्षा, शारीरिक अखण्डता, कल्याण, शान्ति र संस्थागत सुदृढीकरण जस्ता विषयमा केन्द्रित रहेको थियो ।
सम्मेलनको उद्घाटन कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले गरेका थिए । उनले दिगो विकास लक्ष्य हासिल गर्न मानवअधिकार रक्षकहरूको सक्रियता अपरिहार्य भएको उल्लेख गर्दै भने, “मानवअधिकार रक्षकहरू राज्यका आँखाका रूपमा काम गरिरहेका छन् । उनीहरूको सक्रियता र प्रतिबद्धता विना सामाजिक न्याय र दिगो विकास सम्भव छैन । प्रदेश सरकार उनीहरूको सुरक्षा, सशक्तीकरण र सहभागितालाई प्राथमिकतामा राख्दै अघि बढ्छ ।”
प्रदेश मामिला समिति सभापति कल्याणी खड्काले मानवअधिकारको प्रवर्द्धनका लागि युवाहरूको सामूहिक आवाज सशक्त बन्नुपर्नेमा जोड दिइन् । उनले स्थानीयदेखि प्रदेश र राष्ट्रिय तहसम्म युवाको सक्रिय पहलले मात्र न्यायपूर्ण समाज निर्माण सम्भव हुने बताइन् ।
विभिन्न विषयमा प्रस्तुति र छलफल
दुई दिनसम्म चलेको सम्मेलनमा १० वटै जिल्लाका जिल्लास्तरीय युवा मानवअधिकार रक्षक सञ्जालका प्रतिनिधि, पत्रकार, सरोकारवालाको उत्साहजनक सहभागिता रहेको थियो ।
पहिलो दिनको पहिलो सत्रमा कर्णाली प्रदेश योजना आयोग कार्यालयका प्रमुख उपसचिव गोपाल के.सी.ले दिगो विकास लक्ष्य कार्यान्वयनमा युवा मानवअधिकार रक्षकको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गरे ।
दोस्रो सत्रमा राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश कार्यालय प्रमुख उप सचीव रमेश कुमार थापाले युवा मानवअधिकार रक्षकको पहिचान र समग्र सुरक्षा अभियानको दिगोपनाबारे धारणा राखे ।
तेस्रो सत्रमा रोयन नेपालका निर्देशक लुभराज न्यौपानेले अन्तर्राष्ट्रिय अवधारणा र अभियान सम्बन्धी प्रस्तुति दिँदै पहिलो दिनको औपचारिक कार्यक्रम समापन गरे ।
दोस्रो दिनमा सञ्जाल संयोजक सन्तोष बिकले वकालत र नेटवर्किङमा युवाको भूमिकाबारे प्रस्तुति दिए । त्यसपछि रोयन नेपालका कार्यकारी निर्देशक न्यौपानेले डिजिटल अभिमुखीकरण तथा युवा मानवअधिकार रक्षक कार्ययोजना निर्माणसम्बन्धी समूहगत कार्य सञ्चालन गराए । अन्तिम सत्रमा सहभागीहरूले समूहगत कार्ययोजना प्रस्तुत गरेका थिए ।
आगामी योजना
सम्मेलनकै क्रममा रोयन नेपालले कर्णालीका १० जिल्लामा जिल्लास्तरीय सञ्जालहरूसँग सहकार्य गर्दै १० वटा एकदिने कार्यशाला सञ्चालन गर्ने र हरेक दुई वर्षमा दुईपटक प्रादेशिक कार्यशाला आयोजना गर्ने योजना प्रस्तुत गरेको छ । प्रत्येक कार्यशालामा विविध पृष्ठभूमिबाट आएका २० देखि ३० जना युवा मानवअधिकार रक्षकहरूको सहभागिता रहनेछ ।
आयोजक र सहयोगी संस्था
सम्मेलन ग्रामीणमुखी युवा अभियान नेपाल र युवा मानवअधिकार रक्षक सञ्जालको संयुक्त आयोजनामा, एइआइएनको सहयोग तथा राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश कार्यालयको समन्वयमा सम्पन्न भएको हो ।