कर्णाली सरकारबाट कांग्रेस बाहिरियो, चार मन्त्रीको सामूहिक राजीनामा

  ।   ३१ असार २०८३, बुधबार १२:२३

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्रीले बुधबार सामूहिक रूपमा राजीनामा दिएका छन्। उनीहरूले मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामापत्र बुझाउँदै सरकारबाट बाहिरिएका हुन्।

राजीनामा दिने मन्त्रीहरूमा आर्थिक मामिलामन्त्री राजीवविक्रम शाह, जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढा, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी तथा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी रहेका छन्।

सामाजिक विकासमन्त्री घनश्याम भण्डारीका अनुसार बजेट निर्माण प्रक्रियामा असर नपरोस् भन्ने उद्देश्यले यसअघि सरकार नछाडिएको भए पनि मन्त्रिपरिषद्ले दीर्घकालीन प्रभाव पार्ने निर्णय गर्न लागेकाले बैठकअघि नै राजीनामा बुझाइएको हो। उनले कांग्रेसले सरकारलाई दिएको समर्थन भने तत्काल फिर्ता नलिएको स्पष्ट पारे।

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीसँगको परामर्शपछि मन्त्रीहरूले राजीनामा दिने निर्णय गरेका थिए। उनीहरू मन्त्रिपरिषद् बैठकमा सहभागी नभई बिहानै मुख्यमन्त्रीलाई राजीनामा बुझाएर सरकारबाट बाहिरिएका हुन्।

कांग्रेस सरकारबाट बाहिरिएसँगै कर्णाली प्रदेशको नयाँ राजनीतिक समीकरणबारे चर्चा सुरु भएको छ। केन्द्रको सत्ता समीकरण परिवर्तनसँगै प्रदेश सरकारको आगामी दिशा पनि चासोको विषय बनेको छ।

यसबीच, कांग्रेसका मन्त्रीहरूको बहिर्गमनपछि बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश अनुगमन तथा मूल्याङ्कन विधेयकको मस्यौदा तयार गर्न सैद्धान्तिक स्वीकृति, व्यवस्थापन परीक्षण निर्देशिका–२०८३, प्रदेश प्रशिक्षण प्रतिष्ठान सम्बन्धी संरचनागत निर्णय, बीउबिजन नियमावली–२०८३ तथा सडक मर्मतसम्भार निर्देशिका–२०८३ स्वीकृत गरेको सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिएका छन्।