अपडेट

मुगुमा नेपाल नेत्र ज्योति सङ्घ अन्तर्गत नवनिर्मित आँखा उपचार केन्द्र भवन उद्घाटन

  ।   ८ मंसिर २०८२, सोमबार १६:२९

रतन बहादुर रावल ,

मुगु । कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला मुगुमा नेपाल नेत्र ज्योति सङ्घ जिल्ला आँखा उपचार केन्द्र, मुगुको नवनिर्मित भवन सोमबार एक कार्यक्रम बीच उद्घाटन गरिएको छ। लामो समयदेखि सानो टहरोमा सेवा दिँदै आएको यस केन्द्रले अब आधुनिक सुविधासहितको भवनबाट स्थानीयवासीलाई आँखा सम्बन्धी उपचार सेवा प्रदान गर्ने भएको छ।

उद्घाटन समारोहका प्रमुख अतिथि कर्णाली प्रदेशसभा सदस्य जित बहादुर मल्लले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा विस्तार हुनु आफूहरूका लागि ठूलो खुशीको विषय भएको बताउँदै, आँखा समस्याबाट पीडित जनताका लागि यो भवन ‘आशाको आधार’ बन्ने विश्वास व्यक्त गरे।

नेपाल नेत्र ज्योति सङ्घ कर्णाली प्रदेश, मुगुका सभापति तिलक बहादुर मल्लले भने मुगु जस्तो हिमाली जिल्लामा आँखा समस्याका बिरामी धेरै हुनेछन् तर आर्थिक अवस्था कमजोर भएकाले जिल्ला बाहिर उपचारका लागि जान धेरै कठिन पर्ने गरेको छ। उनले भने, “हामीले विगतदेखि नै रातदिन गरिब तथा पीडितका लागि सेवा दिँदै आएका छौँ। अब नयाँ भवन निर्माणसँगै अझ प्रभावकारी रूपमा सेवा विस्तार हुनेछ।”

नवनिर्मित भवन १ करोड ८ लाख ९८ हजार ७ सय २१ रुपैयाँ लागतमा निर्माण गरिएको हो। यसमा छाँयानाथ रारा नगरपालिकाबाट २० लाख र आई केयर फाउन्डेशनबाट ८८ लाख ९८ हजार ७ सय २१ को आर्थिक सहयोग प्राप्त भएको हो।

दुर्गम भौगोलिक कठिनाइलाई जित्दै सेवा विस्तार

मुगु नेपालको सबैभन्दा चुनौतीपूर्ण भूगोलमध्ये एक भएकाले स्वास्थ्य सेवा पहुँच पुग्न कठिन हुने स्थान हो। हिउँदमा कठ्याङ्ग्रिने चिसो, लामो पदयात्रा र यातायात अभावका कारण बिरामीहरू समयमै उपचार नपाई समस्यामा पर्दै आएका थिए।

नयाँ भवन निर्माणपछि स्थायी र सहज उपचार कक्ष,आधुनिक उपकरण,नियमित आँखा परीक्षण,सस्तो तथा पहुँचयोग्य सेवा प्रदान गरिने नेपाल नेत्र ज्योति सङ्घले जनाएको छ।

उद्घाटन कार्यक्रममा सहयोगी संस्थाहरू, स्थानीय जनप्रतिनिधि तथा समुदायका अगुवाहरूले आफ्ना भनाइ राख्दै भविष्यमा आँखा उपचारलाई अझ सुदृढ बनाइने प्रतिवद्धता व्यक्त गरेका थिए।

Next Post

सुर्खेतको काँक्रेविहार जंगलमा किशोर–किशोरी मृत फेला, प्रहरीको अनुसन्धान तीव्र

८ मंसिर २०८२, सोमबार १६:२९
सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ अन्तर्गत पर्ने काँक्रेविहार जंगलमा एक किशोर–किशोरी मृत अवस्थामा भेटिएका छन्। सोमबार बिहान घाँस काट्न गएका स्थानीयवासीले दुईजनालाई झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी मोहनजंग बुढथापाका अनुसार मृत फेला पर्नेमा वीरेन्द्रनगर–१०, खजुराकी १६ वर्षीया दीपिका चौधरी र जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ […]