कालीकोट । मुलुकी अपराध (संहिता) ऐन २०७४ ले २० वर्ष उमेर नपुगी गरिएको विवाहलाई गैरकानुनी मानीन्छ । कानुनतः त्यस्तो विवाह स्वतः बदर हुने प्रावधान छ । कालीकोटमा बालविवाहलाई कानुनले रोक्न खोजे पनि समाजले भने सहजै स्वीकार्ने गरेको तथ्यांक सार्वजनिक भएको छ ।
कालिकोटमा १४.५ प्रतिशत बालविवाह हुने गरेको छ । जसमा पुरुष ६.५ र २१.३ प्रतिशत महिलाले बालविवाह गर्ने गरेका छन् ।
कालिकोटमा सार्वजनिक सरकारी तथ्यांकले बालविवाह रोक्न राज्य तथा विभिन्न संघसंस्थाले चलाउँदै आएका अभियानहरु असफल त छन् र बालविवाह भित्रभित्रै समाजले सहजै स्वीकारेको देखिन्छ । कारबाही हुने डर तथा जनचेतनाको कमीजस्ता कारणले बालविवाहका घटना प्रहरीकहाँ कमै मात्रामा आउने गरेको जानकारहरू बताउँछन् ।
नेपालमा झण्डै ३० प्रतिशत किशोर–किशोरीले उमेर नपुग्दै विवाह गर्ने गरेको सरकारी तथ्यांकले नै देखाउँछ ।
कर्णालीमा अझै पनि ४३.६ प्रतिशतले २० वर्ष नपुग्दै बिहे गर्ने गरेको तथ्यांकले देखाएको । तीमध्ये ५५.६ प्रतिशत किशोरी र २९.२ प्रतिशत किशोर रहेको भर्खरै राष्ट्रिय जनगणना २०७८ को बालबालिकासम्बन्धी सार्वजनिक तथ्यांकमा उल्लेख छ । कर्णाली प्रदेशको १० वटै जिल्लामा बालविवाहको दर १० प्रतिशतभन्दा माथि छ । यसमा सबैभन्दा धेरै बालविवाह सल्यानमा भइरहेको छ । कर्णालीमा बालविवाह गर्नेमा पुरुषभन्दा महिला धेरै रहेका छन् ।
सल्यानमा २४.३ प्रतिशतले उमेर नपुग्दै वालविवाह गर्ने गरेको राष्ट्रिय जनगणनाको तथ्यांकले देखाउँछ । जसमा पुरुष ११.९ प्रतिशत छन् भने महिलाको संख्या ३४.७ प्रतिश रहेको छ ।