अपडेट

सुर्खेतमा ग्यास आपूर्ति सामान्य हुँदै, ३० हजारसम्म खाली सिलिन्डर भर्न बाँकी

  ।   ३ आश्विन २०८३, शनिबार २१:०६

सुर्खेत । सुर्खेतमा खाना पकाउने एलपी ग्यासको आपूर्ति पछिल्लो समय सामान्य हुँदै गए पनि डिलर तथा स्टोरमा ठूलो संख्यामा खाली सिलिन्डर मौज्दात रहेकाले पूर्ण रूपमा सहज अवस्था भने बनिनसकेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्की का अनुसार जिल्लामा ग्यासको आपूर्ति अवस्था अहिले सामान्य हुँदै गइरहेको छ। प्रशासनले ग्यासको आपूर्ति तथा बिक्री वितरण अवस्थाको नियमित अनुगमनसमेत गरिरहेको उहाँले बताउनुभयो।

कार्यालयको २०८३ असोज ३ गतेको विवरणअनुसार सुर्खेतमा नेपाल ग्यासका ८२०, भेरी ग्यासका ५७० र नेपाल ग्यास कर्णालीका ४९५ गरी कुल १ हजार ८ सय ८५ सिलिन्डर बिक्री वितरण भएको छ।

तर, ग्यास डिलरका स्टोरमा विभिन्न कम्पनीका १५ हजारदेखि ३० हजारसम्म खाली सिलिन्डर भर्न बाँकी रहेको प्रशासनको विवरणमा उल्लेख छ। उपभोक्ताबाट दैनिक रूपमा करिब ८०० देखि १ हजारसम्म खाली सिलिन्डर खालि भई आउने अवस्था रहेकाले ग्यासको माग र आपूर्तिबीच सन्तुलन कायम गर्न अझै चुनौती रहेको देखिन्छ।

सहायक प्रमुख जिल्ला अधिकारी कार्कीका अनुसार असोज २ गतेदेखि ग्यास डिलरमा सिलिन्डरका लागि लाइन बस्ने अवस्था हटेको छ। डिलरमै ग्यास मौज्दात रहन थालेपछि पछिल्लो समय आपूर्ति व्यवस्थामा सुधार आएको उहाँको भनाइ छ।

यद्यपि, डिलर तथा स्टोरमा रहेका ठूलो संख्याका खाली सिलिन्डर तत्काल भरेर बजारमा पठाउन सकिएमा मात्रै ग्यास आपूर्ति अझ सहज हुने देखिन्छ। जिल्ला प्रशासन कार्यालयले ग्यासको आपूर्ति अवस्थाबारे नियमित अनुगमन भइरहेको जनाएको छ।

Next Post

वीरेन्द्रनगर–३ कांग्रेस वडा अधिवेशन स्थगित गर्न माग, ४०२ क्रियाशील सदस्यको नामावलीबारे प्रश्न

३ आश्विन २०८३, शनिबार २१:०६
सुर्खेत । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरेन्द्रनगर नगरपालिका–३ मा हुने वडा अधिवेशन स्थगित गर्न माग गर्दै निर्वाचन अधिकृतसमक्ष लिखित निवेदन पेश गरिएको छ। वडा अधिवेशनमा सहभागी हुन अनलाइनमार्फत क्रियाशील सदस्यताका लागि आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिएका करिब ४०२ जनाको नाम वडा सभापतिले नियोजित रूपमा क्रियाशील सदस्यको सूचीबाट हटाएको निवेदकहरूको […]