अपडेट

वीरेन्द्रनगर–३ कांग्रेस वडा अधिवेशन स्थगित गर्न माग, ४०२ क्रियाशील सदस्यको नामावलीबारे प्रश्न

  ।   ४ आश्विन २०८३, आईतवार ०७:२५

सुर्खेत । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरेन्द्रनगर नगरपालिका–३ मा हुने वडा अधिवेशन स्थगित गर्न माग गर्दै निर्वाचन अधिकृतसमक्ष लिखित निवेदन पेश गरिएको छ।

वडा अधिवेशनमा सहभागी हुन अनलाइनमार्फत क्रियाशील सदस्यताका लागि आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिएका करिब ४०२ जनाको नाम वडा सभापतिले नियोजित रूपमा क्रियाशील सदस्यको सूचीबाट हटाएको निवेदकहरूको आरोप छ। उनीहरूले यस्तो कार्यले पार्टीको भावना र विधिलाई प्रभावित पार्ने भन्दै तत्काल निर्वाचन प्रक्रिया अघि नबढाउन माग गरेका छन्।

निवेदनमा विशेषगरी युवा, दलित तथा महिला सदस्यहरूलाई नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गर्ने अवसरबाट वञ्चित गरिएको दाबी गरिएको छ। सदस्यता प्राप्तिका लागि प्रक्रिया पूरा गरेका व्यक्तिहरूको नामावली सार्वजनिक तथा समावेश नगरिएसम्म वडा अधिवेशन अघि बढाउँदा निष्पक्षतामाथि प्रश्न उठ्ने भन्दै निर्वाचन प्रक्रिया स्थगित गर्न माग गरिएको हो।

वडा कार्यसमितिका पदाधिकारी तथा सदस्य, जिल्ला कार्यसमिति सदस्य, पूर्व पदाधिकारी, पूर्व महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि तथा भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारीसहितका व्यक्तिहरूले असहमति जनाउँदै संयुक्त रूपमा निवेदन पेश गरेका हुन्।

निवेदनमा महतबहादुर सिंह, उपसभापति वडा नं. ३ वडा कार्यसमिति, हिमाल सिरपाइली, दशरथ मल्ल, कविराज थापा तथा लालबहादुर शाही लगायतको हस्ताक्षर रहेको उल्लेख छ। लालबहादुर शाही १४औँ महाधिवेशनका वडा सभापति उम्मेदवारसमेत रहेको निवेदनमा उल्लेख गरिएको छ।

निवेदकहरूले क्रियाशील सदस्यताको विषय स्पष्ट नभएसम्म वडा अधिवेशनको प्रक्रिया अगाडि बढाउँदा थप विवाद सिर्जना हुन सक्ने बताएका छन्। त्यसैले सदस्यता सम्बन्धी विषय छानबिन गरी सबै योग्य क्रियाशील सदस्यको नामावली स्पष्ट गरेपछि मात्रै अधिवेशन प्रक्रिया अघि बढाउन उनीहरूको माग छ।

यस विषयमा जिल्ला निर्वाचन अधिकृत सुर्खेत, प्रदेश जिल्ला निर्वाचन अधिकृत कर्णाली प्रदेश तथा केन्द्रीय निर्वाचन अधिकृत, सानेपा काठमाडौंलाई समेत बोधार्थ दिइएको छ।