अपडेट

संविधान दिवसको अवसरमा कुइनेपानीमा वृक्षारोपण

  ।   ४ आश्विन २०८३, आईतवार १६:४६

सुर्खेत । संविधान दिवस २०८३ को अवसरमा कर्णाली प्रदेश सरकारले आज वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालय, कुइनेपानीमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

संविधान दिवसलाई जनसहभागितामूलक र सामाजिक उत्तरदायित्वसँग जोडेर मनाउने उद्देश्यले आयोजित कार्यक्रममा कर्णाली प्रदेश सरकारका माननीय मन्त्रीहरू, प्रदेश सरकारका अधिकारी तथा कर्मचारी, विश्वविद्यालयका पदाधिकारी, शिक्षक–विद्यार्थी र विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा मन्त्रीलगायत सहभागीहरूले विश्वविद्यालय परिसरमा विभिन्न प्रजातिका ८० बिरुवा रोपेका हुन । वृक्षारोपणमार्फत वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा सार्वजनिक स्थलको सौन्दर्य कायम गर्ने सन्देश दिन खोजिएको प्रदेश सरकारले जनाएको छ।

प्रदेश सरकारका प्रवक्ता तथा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काका अनुसार संविधान दिवसलाई सरकारी औपचारिकतामा मात्र सीमित नगरी नागरिक सहभागिता, सामाजिक उत्तरदायित्व र वातावरण संरक्षणसँग जोडेर मनाउने गरी तयारी गरिएको बताउनुभयो  ।