वीरेन्द्रनगर–३ मा कांग्रेसको समानान्तर समिति, बालकृष्ण हमाल चालिसेलाई वडा अध्यक्षका रूपमा अघि सारियो
सुर्खेत । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरेन्द्रनगर नगरपालिका–३ मा वडा अधिवेशनलाई लिएर विवाद चर्किरहेका बेला असन्तुष्ट पक्षले आगामी स्थानीय तह निर्वाचनका लागि बालकृष्ण हमाल चालिसेलाई वडा अध्यक्षका रूपमा अघि सारेको छ। सोही निर्णयसँगै हमाल चालिसेको नेतृत्वमा वडा सभापतिसहित समानान्तर वडा कार्यसमिति समेत गठन गरिएको छ।
असोज ४ गते भएको भेलाबाट हमाल चालिसेलाई वडा सभापतिमा चयन गर्दै आगामी स्थानीय तह निर्वाचनमा वडा नम्बर ३ को वडा अध्यक्षका रूपमा अघि सार्ने निर्णय गरिएको असन्तुष्ट पक्षले जनाएको छ। उनीहरूले पार्टीभित्रको आन्तरिक विवाद र अधिवेशन प्रक्रियाप्रति असहमतिकै बीच आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो नेतृत्व संरचना बनाएको बताएका छन्।
यसअघि असोज ३ गते भएको भनिएको वडा अधिवेशनमा एक पक्षले वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन गरेको थियो। त्यसप्रति असन्तुष्ट पक्षले भने आफ्नो पक्षका करिब ४ सय क्रियाशील सदस्यको नामावली उपलब्ध नभएको भन्दै निर्वाचन अधिकृतसमक्ष निवेदन दिएको जनाएको छ।
असन्तुष्ट पक्षका अनुसार क्रियाशील सदस्यको नामावली नआएको विषयमा निर्वाचन अधिकृतलाई जानकारी गराउँदै अधिवेशन प्रक्रिया रोक्न आग्रह गरिएको थियो। निर्वाचन अधिकृतबाट प्रक्रिया रोक्ने आश्वासन पाए पनि त्यसविपरीत समिति गठन गरिएको उनीहरूको दाबी छ।
यही विषयलाई लिएर आफूहरूले असोज ४ गते भेला गरी बालकृष्ण हमाल चालिसेलाई वडा सभापति तथा आगामी स्थानीय निर्वाचनका लागि वडा अध्यक्षका रूपमा अघि सारिएको बताएका छन्। साथै वडा कार्यसमितिसमेत गठन गरिएको उनीहरूको भनाइ छ।
यससँगै वीरेन्द्रनगर–३ मा नेपाली कांग्रेसभित्र वडा सभापतिसहित वडा कार्यसमिति र आगामी स्थानीय निर्वाचनको वडा अध्यक्षका विषयमा दुई पक्षीय संरचना देखिएको छ। एक पक्षले अधिवेशनबाट समिति चयन भएको दाबी गरिरहेको छ भने अर्को पक्षले उक्त प्रक्रिया स्वीकार नगरी हमाल चालिसेको नेतृत्वमा समानान्तर समिति गठन गरेको जनाएको छ।
विवादको मुख्य विषय क्रियाशील सदस्यताको नामावली, अधिवेशनमा सहभागिता र निर्वाचन प्रक्रियालाई लिएर केन्द्रित छ।
नेपाली कांग्रेसको वीरेन्द्रनगर नगरपालिका–३ नम्बर वडामा बालकृष्ण हमाल चालिसे र सरस्वती थापा वडा सभापतिमा निर्विरोध निर्वाचित भएको दाबी गर्दै दुवै पक्षले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिइरहेका छन्। तर एउटै वडामा दुई जना वडा सभापति निर्विरोध निर्वाचित भएको दाबी सार्वजनिक भएपछि कांग्रेसभित्रै प्रश्न उठेको छ—के कांग्रेसको नयाँ नियमले एउटै वडामा दुईवटा वडा सभापति बनाउने व्यवस्था गरेको हो ? होइन भने आधिकारिक वडा सभापति को हुन् ?
वडा अधिवेशनको प्रक्रिया, क्रियाशील सदस्यताको नामावली र निर्वाचनसम्बन्धी विवादका कारण वीरेन्द्रनगर–३ मा दुई पक्षबाट अलग–अलग नेतृत्व दाबी भइरहेको छ। दुवै पक्षले आ–आफ्नो प्रक्रिया वैधानिक रहेको र आफूहरू नै आधिकारिक भएको दाबी गरिरहेका छन्।






