सुर्खेत । सुर्खेतमा नेपालकै लामो तीनमुखे झोलुङ्गे पुल निर्माण सुरु भएको छ । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाको खटाङ क्षेत्रमा भेरी नदीले घेरिएको खटाङ टापुमा मुख्य पिल्लर स्थापना गरेर गुर्भाकोट नगरपालिका–८, १२ र १२ नम्बर वडा जोड्ने गरेर पुल निर्माण सुरु गरिएको हो ।
तीनमुखे पुलको शिलान्यास गर्दै नेपाली कांग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले धार्मिक एवं पर्यटकीय क्षेत्र खटाङ देशकै ठूलो धार्मिक क्षेत्र हुने बताउनुभयो । ‘नदी उत्तर फर्कनु निकै धार्मिक मानिन्छ, यहाँको भेरी नदी पनि उत्तरमा फर्केको छ । यो एकदमै कम स्थानमा छ,’ उहाँले भनेन्नुभयो, ‘बजेटमान्रै ल्याएर नहुने रहेछ कार्यान्वयन पनि उतिकै जरुरी छ ।
उहाँले पर्याप्त मात्रामा बजेट भएको योजना समयमै सम्पन्न गर्न निर्देशन दिए । सस्पेन्सन ब्रिज डिभिजन पुलचोकका इन्जिनियर गोपाल थापाले खटाङमा नेपालकै लामो तीनमुखे पुल बनाउन लागेको बताउनुभयो । उहाँले भने, ‘यो स्थानमा बन्न लागेको तीनमुखे पुल नेपालमा निर्माण सम्पन्न भएका र निर्माण भइरहेका तीनमुखे पुलहरूमध्ये यो सबैभन्दा लामो हो ।’
२०८३ असारभित्र निर्माण सम्पन्न गर्ने गरेर काम भइरहेको उनको भनाए छ । यो पुल १.६० मिटर चौडाइ र ६५४.६० मिटर लम्बाइको हुनेछ । खटाङ टापुमा बन्ने टावरको उचाइ २५.२३ मिटरको हुनेछ । इन्जिनियर थापाका अनुसार पुल निर्माणको काम २१ करोड १९ लाख पाँच हजार ८५ रुपैयाँमा श्री गीता कन्स्ट्रक्सनले पाएको छ । निर्माण कम्पनीले मुख्य टावर निर्माण हुने खटाङ क्षेत्रमा फाउन्डेसन निर्माण सम्पन्न गरिसकेको छ भने मेहलकुना र दहचौरतर्फको फाउन्डेसन निर्माणलाई तीव्रता दिएको छ ।
सस्पेन्सन ब्रिज डिभिजनका अनुसार मुख्य टावर रहने खटाङ क्षेत्रमा २२ मिटर गहिराइका २५ वटा पिल्लर निर्माण हुनेछन् । यस्तै घुमखहरेतर्फ १६ मिटर गहिराइका १४ वटा टावर निर्माण हुनेछन् भने दहचौर र मेहलकुनातर्फ आरसीसी फाउन्डेसन निर्माण गरिनेछ । साइट इन्चार्ज इन्जिनियर उमंग प्रभात गिरीले तीन गाउँ जोड्नलाई तीनमुखे पुल निर्माणा गरिएको बताउनुभयो ।
पुल निर्माण गर्नका लागि निर्माण व्यवसायीसँग २०८१ असार ११ गते सम्झौता भएको थियो । योजना आयोगका सदस्य अशोकनाथ योगीले दोस्रो पञ्चवर्षीय योजनामा पनि सडक र पक्की पुलको पहुँच नपुगेका स्थानमा झोलुङ्गे पुल बनाउने नीतिमा र योजनामा समावेश गरेको बताउनुभयो ।