अपडेट

२४ घण्टामा छुट्टाछुट्टै दुर्घटनामा : एक बालिकासहित ४ जनाको मृत्यु,१६१जना घाइते

  ।   २९ कार्तिक २०८३, शनिबार १७:१६

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा देशका तीन जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा एक बालिकासहित चार जनाको मृत्यु भएको छ भने १ सय ६१ जना घाइते भएका छन ।

नेपाल प्रहरीका अनुसार भक्तपुरको साँगा झोलुङ्गे पुल नजिकै बस र सरकारी मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा पछाडि सवार १५ वर्षीया भूमिका राईको उपचारका क्रममा मृत्यु भएको छ।

त्यस्तै, कास्कीको पोखरा महानगरपालिका–५, जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा म्याग्दीका २६ वर्षीय मोहन परियार र २१ वर्षीय विवेक दर्जीको मृत्यु भएको छ।

यसैगरी, कैलालीको गौरीगंगा नगरपालिका–८, लिम्कामा खेत जोत्ने क्रममा ट्र्याक्टरबाट खसेर रोटाभेटरमा परेका सात वर्षीय सुशान्त चौधरीको घटनास्थलमै मृत्यु भएको छ।

तीनवटै दुर्घटना २०८३ कात्तिक २७ गते भएका हुन्। दुर्घटनामा चार जनाले ज्यान गुमाएपछि सडक तथा सवारी सुरक्षामा थप सतर्कता अपनाउनुपर्ने देखिएको छ।

सम्बन्धित शीर्षक