दैलेख । सन् १९९७ मा स्थापना भएको दैलेख जेसीजले आफ्नो २९ वर्षको गौरवपूर्ण इतिहासमा पहिलोपटक महिलालाई राष्ट्रिय नेतृत्वको महत्वपूर्ण जिम्मेवारीका लागि अगाडि सारेको छ। दैलेख जेसीज वर्ष २०२५ की अध्यक्ष जेसी प्रतिमा खड्काले नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी प्रस्तुत गर्नुभएको छ।
आफ्नो कार्यकालमा कुशल नेतृत्व, निरन्तर क्रियाशीलता र उत्कृष्ट कार्यसम्पादनमार्फत शाखालाई सक्रिय, गतिशील तथा उपलब्धिमूलक बनाउन महत्वपूर्ण योगदान पुर्याउनुभएकी खड्का जेसीज अभियानमा अनुभवी र सम्भावनायुक्त नेतृत्वका रूपमा परिचित हुनुहुन्छ। उहाँले शाखा अध्यक्षका रूपमा विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गर्नुका साथै तालिम, प्रशिक्षण र नेतृत्व विकासका क्षेत्रमा समेत अनुभव हासिल गर्नुभएको छ।
स्थानीय शाखाबाट सुरु भएको उहाँको जेसीज यात्रा अब राष्ट्रिय नेतृत्वसम्म पुग्ने लक्ष्यका साथ अघि बढेको छ। दैलेख जेसीजले उहाँलाई राष्ट्रिय उपाध्यक्ष पदमा अगाडि सार्नु केवल एक व्यक्तिको उम्मेदवारी मात्र नभई २९ वर्षको संस्थागत इतिहास, अनुभव, योगदान र महिलाको नेतृत्व क्षमतालाई राष्ट्रिय स्तरमा स्थापित गर्ने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।
विशेषगरी, महिलालाई नेतृत्वमा अघि बढाउँदै कर्णाली प्रदेशको प्रतिनिधित्व राष्ट्रिय स्तरमा स्थापित गर्ने दैलेख जेसीजको यो साहसिक कदमलाई जेसीज वृत्तमा अर्थपूर्ण रूपमा लिइएको छ। यसले महिला नेतृत्वको सम्भावना, क्षमता र अवसरलाई थप प्रोत्साहन गर्ने विस्वास गरिएको छ।
वर्ष २०२५ मा दैलेख जेसीजको शाखा अध्यक्षको जिम्मेवारी सम्हालिरहँदा उहाँले अप्रत्याशित दुर्घटनाको सामना गर्नुपर्यो। शारीरिक पीडा र कठिन परिस्थितिले उहाँको यात्रा सहज रहेन, तर जेसीजप्रतिको अगाध समर्पण, सक्रियता र नेतृत्वप्रतिको प्रतिबद्धतामा भने कहिल्यै कमी आएन। कठिनाइसँग हार नमानी आत्मविश्वास, साहस र दृढ इच्छाशक्तिका साथ उहाँ निरन्तर आफ्नो जिम्मेवारीमा अघि बढिरहनुभयो।
संघर्षले खारिएको नेतृत्व, अनुभवले निखारिएको व्यक्तित्व र सेवाले स्थापित गरेको पहिचान—प्रतिमा खड्का। उहाँको यात्रा केवल एउटा पदको जिम्मेवारी पूरा गर्ने कथा होइन, चुनौतीलाई अवसरमा बदल्दै राष्ट्रिय नेतृत्वतर्फ अघि बढेको प्रेरणादायी उदाहरण पनि हो।
नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन आगामी पौष ८, ९ र १० गते झापाको भद्रपुरमा आयोजना हुँदैछ। महाधिवेशनमा देशभरका जेसीज शाखाका प्रतिनिधिहरूको सहभागिता रहनेछ भने राष्ट्रिय नेतृत्व चयनका लागि निर्वाचनसमेत हुनेछ।
दैलेख जेसीजको २९ वर्षे इतिहास, कर्णालीको पहिचान र महिला नेतृत्वको सम्मानलाई आत्मसात् गर्दै प्रतिमा खड्कालाई अत्यधिक बहुमतका साथ विजयी गराउन देशभरका जेसीज प्रतिनिधिहरूबाट सकारात्मक साथ, सहयोग र समर्थन प्राप्त हुने विश्वास गरिएको छ।
दैलेखको गौरव, कर्णालीको प्रतिनिधित्व र महिला नेतृत्वको सशक्त आवाजका रूपमा प्रतिमा खड्काको उम्मेदवारीलाई राष्ट्रिय नेतृत्वमा स्थापित गराउने अपेक्षा गरिएको छ।






