कालिकोट । कर्णाली राजमार्ग अन्तर्गत खाँडाचक्र नगरपालिका–२ जितेबजार नजिक मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। बाईक दुर्घटनामा परी कर्णाली जेसिज वर्ष २०२६ का उपाध्यक्ष जनम प्रसाद न्यौपानेको निधन भएको हो । उहाँको असामयिक निधनले सिंगो कालिकोट जिल्ला शोकमा डुबेको छ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार आज बिहान करिब ७:३० बजे पचालझरना गाउँपालिका–४ लाफा घर भएका न्यौपाने भे ६ प ३३३१ नम्बरको मोटरसाइकलमा मान्मबाट घर फर्कने क्रममा दुर्घटना भएको हो। जिते नजिक सडक कच्ची, गिट्टी र ओरालो रहेको स्थानबाट मोटरसाइकल करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार अप्ठ्यारो सडक अवस्थाकै कारण दुर्घटना भएको हुन सक्ने बताइएको छ।
दुर्घटनापछि स्थानीयवासी र प्रहरीको टोली घटनास्थल पुगेको थियो। गम्भीर घाइते अवस्थाबाट उद्धार गरिएका न्यौपानेलाई बचाउन प्रयास गरिए पनि अस्पतालले मृत्यु घोषण गरेको हो। हाल उहाँको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल, मान्ममा राखिएको छ।
न्यौपाने कर्णाली जेसिज वर्ष २०२६ का उपाध्यक्ष तथा नेपाली कांग्रेस प्रदेश निर्वाचन क्षेत्र ‘ख’ का प्रवक्ताका रूपमा सक्रिय रहनुभएको थियो। सामाजिक, राजनीतिक तथा युवा अभियानमा उहाँको उल्लेखनीय भूमिका रहेको थियो। उहाँको अचानक निधनले परिवार, आफन्त, साथीभाइ, संगठन र शुभेच्छुकहरूलाई अपूरणीय क्षति पुगेको छ।
उहाँको सक्रियता, सरल स्वभाव र समाजप्रतिको समर्पण सधैं स्मरणीय रहने स्थानीयले बताएका छन्। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ।







