कालिकोट । जिल्ला शुभकालिका गाउँपालिका वडा नं. १ का रामबहादुर सुनारले आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै उदाहरणीय कार्य गरेका छन्। फागुन २ गते परेको आफ्नो जन्मदिनका अवसरमा हुने अनावश्यक खर्च कटौती गरी उनले गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका हुन्।

वडा नं. १ भित्रका विभिन्न विद्यालयमा अध्ययनरत ४० जना न्यून आय भएका विद्यार्थीलाई प्रति विद्यार्थी ६ ओटा कापी, ४ वटा डटपेनलगायत आवश्यक स्टेशनरी सामग्री प्रदान गरिएको छ। साथै सोही विद्यालयका १२ जना शिक्षकलाई एक–एक वटा रातो र कालो पेन वितरण गरिएको जनाइएको छ।
जन्मदिन शनिबार परे पनि विद्यालय बन्द हुने भएकाले उनले शुक्रबार नै विद्यालय परिसरमा एक सानो कार्यक्रम आयोजना गरी सामग्री हस्तान्तरण गरेका थिए। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमअन्तर्गत १० जना सुनार परिवार, १० जना बिक परिवार, १० जना मगर परिवार र १० जना अन्य घरपरिवारका गरी जम्मा ४० जना विद्यार्थीलाई समान रूपमा सामग्री वितरण गरिएको थियो। सहयोग पाएका विद्यार्थीहरू निकै उत्साहित देखिन्थे भने अभिभावकहरूले यस कार्यलाई प्रेरणादायी पहलका रूपमा लिएका छन्।
कार्यक्रममा बोल्दै रामबहादुर सुनारले व्यक्तिगत खुशीभन्दा पनि सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे। “जन्मदिनमा फजुल खर्च गर्नु भन्दा समाजका गरिब तथा जेहेन्दार विद्यार्थीको शिक्षामा सानो भए पनि टेवा पुर्याउन सकेँ भने त्यो नै मेरो लागि सबैभन्दा ठूलो खुशी हो,” उनले भने।
विद्यालयका प्रधानाध्यापकले यस्तो सामाजिक सोचले अन्य युवालाई समेत सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे। स्थानीयवासीहरूले जन्मदिनजस्ता व्यक्तिगत अवसरलाई समाजसेवामा रूपान्तरण गर्ने संस्कार विस्तार हुँदै जानुपर्नेमा जोड दिएका छन्।
यस प्रकारका कार्यले समुदायमा सहयोग, सद्भाव र शिक्षाप्रति जिम्मेवारीको भावना अभिवृद्धि हुने विश्वास गरिएको छ। रामबहादुर सुनारको यो कदमले समाजमा सकारात्मक उदाहरण प्रस्तुत गरेको सहभागीहरूको भनाइ छ।







