सल्यान । आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउने उद्देश्यसहित सल्यानमा यस वर्ष डिजिटल प्रविधिमार्फत मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ। जिल्ला निर्वाचन कार्यालय सल्यानले जिल्लाका १० वटै स्थानीय तहका ८३ वडामा परिचालित हुने मतदाता शिक्षा स्वयंसेवकलाई अभिमुखीकरण प्रदान गरेको जनाएको छ।
कार्यालयका अनुसार फागुन ३ गतेदेखि स्वयंसेवकहरू वडास्तरमा खटिने छन्। उनीहरूले नमूना मतपत्रबाहेक अधिकांश शैक्षिक सामग्री मोबाइल तथा अन्य डिजिटल माध्यममार्फत प्रयोग गर्नेछन्। डिजिटल सामग्रीमार्फत मतदान गर्ने सही तरिका, मतपत्र प्रयोग विधि र निर्वाचनसम्बन्धी आधारभूत जानकारी आम मतदातासम्म पुर्याइनेछ।
जिल्ला निर्वाचन अधिकारी धिरेन्द्र भण्डारीका अनुसार यस पटक बदर मत घटाउने र मतदातालाई सही तथा समयमै सूचना उपलब्ध गराउने लक्ष्यका साथ डिजिटल प्रविधिलाई प्राथमिकता दिइएको हो।
त्यसैगरी मुख्य निर्वाचन अधिकारी प्रल्हादकुमार गिरीले निर्वाचन लोकतन्त्रको आधार स्तम्भ भएकाले यसको विश्वसनीयता कायम राख्न मतदाता सचेत, जिम्मेवार र सूचित हुन आवश्यक रहेको बताउनुभयो। बदर मत न्यूनीकरणका लागि सबै पक्षको सक्रिय सहभागिता अपरिहार्य रहेको उहाँको भनाइ छ।
डिजिटल मतदाता शिक्षा कार्यक्रमअन्तर्गत मतदान प्रक्रिया, गोप्य मतदानको महत्व, निर्वाचन आचारसंहिता तथा सामाजिक सञ्जालमा फैलिन सक्ने भ्रामक सूचनाबाट जोगिने उपायबारे जानकारी दिइनेछ।
कार्यालयका अनुसार सल्यान जिल्लामा कुल १ लाख ६२ हजार ४४९ मतदाता रहेका छन्। कार्यक्रममार्फत ८३ वटै वडाका सबै मतदातासम्म पहुँच पुर्याउने लक्ष्य लिइएको छ। कार्यक्रम प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न प्रत्येक स्थानीय तहमा अनुगमनकर्ता समेत परिचालन गरिने जनाइएको छ।







