कर्णालीको चौथौ मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त

  ।   २७ चैत्र २०८०, मंगलवार १८:३४

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् ।

मुख्यमन्त्रीमा कँडेल नियुक्त भए सगै कर्णाली प्रदेशको चौथौ नेकपा एमालेले पहिलो मुख्यमन्त्रीका लागि प्रदेशसभामा झारेका नेतामध्ये एक हुन्, यामलाल कँडेल । शंकर पोखरेलदेखि पृथ्वीसुब्बा गुरुङ, अष्टलक्ष्मी शाक्य, शेरधन राई र भीमप्रसाद आचार्य पहिलो कार्यकालमै मुख्यमन्त्री भए । तर, कँडेलको पालो आएन । एमालेले प्रदेशसभाको ५० प्रतिशत सदस्य जित्दा पूरा नभएको त्यो सपना तेस्रो दल हुँदा पूरा हुनेछ ।

 

कर्णालीका सबैभन्दा सिनियर नेता भएर पनि कँडेल २०७४ को आमचुनावमा संघमा नलडेर प्रदेशसभा ताकेका थिए ।माओवादीसँगको गठबन्धनको बलमा एमालेले कर्णाली प्रदेशका ४० सिटमध्ये २० सिटमा जित पनि हात पार्‍यो । एमाले संसदीय दलका नेता निर्वाचित भए पनि कँडेल मुख्यमन्त्री हुन पाएनन् । प्रदेश बाँडफाँटमा कर्णाली माओवादीको भागमा पर्‍यो । मुखैमा आएको मुख्यमन्त्री माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले उछिट्याइदिए ।

त्यसयता मुख्यमन्त्री हुन पटक(पटक प्रयास गरेका कँडेलका लागि २०८० सालको अन्तिम महिना शुभ भयो, जसको सुरुवात २१ फागुनमा केन्द्र सरकारमा एकाएक भएको सत्ता गठबन्धन परिवर्तन थियो । पटकपटक मुख्यमन्त्री पद कँडेलको मुखमा पुगेर फुत्किएको छ । तर, योपटक प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओली दुवै कँडेललाई मुख्यमन्त्री बनाउन तयार भए । केन्द्रीय सहमतिको बिरोधमा मुख्यमन्त्री राजकुमार शर्माले आनाकानी गरे पनि अन्ततः उनको पृष्ठभूमिमा रहेको जनार्दन शर्माको तगारो पनि पन्छाएका छन् कँडेलले । विगत तीन दिनयता चलेको म्याराथन राजनीतिक भेटघाट र छलफलपछि बुधबार कर्णालीका मुख्यमन्त्री शर्मा राजीनामा दिएर एमालेलाई सत्ता हस्तान्तरण गर्न तयार भएपछि कँडेल मुख्यमन्त्री बन्ने पक्का भएको हो ।

२०७४ यता कँडेलले मुख्यमन्त्री बन्न छपटक प्रयास गरेका छन् । २०७४ को मंसिरमा भएको प्रदेशसभा चुनावबाट प्रदेशमा एमाले २० सिटसहित सबैभन्दा ठूलो दल भएकाले कँडेलले तत्कालीन एमाले–माओवादी गठबन्धनमा मुख्यमन्त्रीको दाबी गरे । तर, गठबन्धनमा सो प्रदेश माओवादी केन्द्रको भागमा परेपछि कालीकोटका माओवादी नेता महेन्द्रबहादुर शाही मुख्यमन्त्री बने । कँडेलले प्रयास गरेर पनि असफल भएको यो पहिलोपटक थियो ।

चुनावी गठबन्धन गरेका एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गरेर नेकपा बनेपछि मुख्यमन्त्री शाही संसदीय दलको नेता पनि चयन भए । तर, मुख्यमन्त्री बन्ने सपना देखेका कँडेलले मौका हेरिरहेका थिए । ३ जेठ २०७५ मा एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि कँडेलले मुख्यमन्त्री आलोपालो हुनुपर्ने माग गरेका थिए । यो उनको दोस्रो प्रयास थियो । तर, प्रचण्ड र ओली दुवैले उनको त्यो माग सुनेनन् ।

नेकपाभित्र ओली र प्रचण्डबीच दूरी बढिरहेको बेला फेरि २४ असोज २०७७ मा कँडेलले शाहीलाई संसदीय दलको नेताबाट हटाएर आफू मुख्यमन्त्री हुने प्रयास गरे । सुरूमा आफ्नै निवासमा बोलाएर वचन दिएका नेता माधवकुमार नेपालले साथ छोड्दा उनीनिकट कँडेललाई साथ दिएनन् । जसका कारण शाहीविरुद्ध संसदीय दलमा ल्याएको अविश्वास प्रस्ताव तुहियो । कँडेलको तेस्रो प्रयास पनि त्यतिबेला असफल भयो ।

यसको लगभग ६ महिनापछि कँडेलका लागि मुख्यमन्त्री बन्ने अर्को मौका आयो । सर्वोच्च अदालतले एमाले र माओवादीबीचको एकीकरणलाई बदर गरी दुई पार्टीलाई अलग अलग बनाएपछि कँडेलका लागि मौका आएको थियो । यति बेला ओली र प्रचण्डबीच निकै दूरी पनि बढिसकेको थियो । त्यसैले मुख्यमन्त्री शाही अल्पमतमा परिसकेका थिए । कँडेलले यही मौकाको उपयोग गरी आफू मुख्यमन्त्री हुने चौथो प्रयास गरे । यहीबीचमा मुख्यमन्त्री शाहीले प्रदेशसभामा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव राखे, जसमा ३ वैशाख २०७८ मा मतदान भयो । एमालेले जारी गरेको ह्वीपविरुद्ध गएर एमालेका प्रकाश ज्वालासहितका चार जना सांसदले फ्लोर क्रस गरिदिए । शाहीको सरकार जोगियो, कँडेलको मुख्यमन्त्री बन्ने सपनामा अर्को तुषारापात भयो ।

यसपछि त नेकपा एमाले नै विभाजन भयो भने नेकपा माओवादी केन्द्र, नेकपा एस र कांग्रेसको छुट्टै गठबन्धन बन्यो । पहिलो कार्यकालमै मुख्यमन्त्री बन्ने कँडेलको सम्भावना नै सकियो ।

२०७९ को चुनावमा कांग्रेस र माओवादी केन्द्र गठबन्धन बनाएर चुनाव लडे । यसपटक पनि कँडेल रणनीतिक रूपमा संघमा नलडी प्रदेशमै उम्मेदवार बने । किनकि, कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवारसँग संघमा जित्न मुस्किल हुने देखेका थिए । र, प्रदेशमा लडे जितिने पनि र मौका आए मुख्यमन्त्री बन्ने उनले सम्भावना देखेका थिए । चुनावी नतिजाले प्रदेशसभामा एमालेलाई कमजोर बनायो तर केन्द्रमा कांग्रेस–माओवादीको गठबन्धन भत्किएर १० पुस २०७९ मा एमाले–माओवादी गठबन्धन बन्यो । यसले फेरि कँडेल मुख्यमन्त्री हुने सम्भावनाको ढोका खुल्यो । तर, गठबन्धनमा कर्णाली प्रदेश पुनः माओवादी केन्द्रको भागमा पर्‍यो । तर, कँडेलले केन्द्रको सहमतिलाई त्यतिबेला चुनौती दिएर कुनै पनि हालतमा माओवादीलाई समर्थन गर्न नसकिने अडान कसे ।

कँडेलको यो मुख्यमन्त्री बन्ने पाँचौँ प्रयास थियो । तर, योपटक पनि कँडेल सफल हुन सकेनन् । प्रदेश तहमै भए पनि माओवादी र एमालेबीच आधाआधा कार्यकाल बाँड्ने सहमति भने गराए । तर, २०८९ फागुनमा फेरि केन्द्रमा सत्ता गठबन्धनमा फेरबदल भयो ।

पटकपटक आफूलाई पन्छाइएकोमा उनी पार्टी अध्यक्ष ओलीसँग पनि असन्तुष्ट थिए । अध्यक्ष ओलीका कतिपय निर्देशन अवज्ञा गरेर कर्णाली प्रदेश कमिटी र जिल्ला अधिवेशन प्रभावित गरेको आरोप पनि कँडेलमाथि थियो । त्यसैले पनि ओली उनलाई थप चिढाउने पक्षमा थिएनन् । प्रदेश नेतृत्व बाँडफाँट गर्न बसेको बैठकमै ओलीले भनेका थिए, ‘यसपटक पनि कँडेललाई नबनाए श्राप लाग्छ ।’ त्यसैले एमाले आफ्नो प्रभाव क्षेत्र लुम्बिनीको नेतृत्वसँग कर्णाली साट्ने निर्णय पुग्यो ।

सत्ता गठबन्धनबीच भागवण्डा हुँदा कर्णाली एमालेको भागमा पनि पर्‍यो । सोमबार राति प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष प्रचण्डले एमालेलाई सत्ता हस्तान्तरण गर्न निर्देशन पनि दिए । पार्टी अध्यक्षले नै एमालेलाई सत्ता हस्तान्तरण गर्न भनेपछि सहजै कँडेल मुख्यमन्त्री हुने अनुमानका बीच माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको बलमा मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा नलिने अडान कसे । तीन दिनको अनवरत भेटघाट, छलफलपछि अन्ततः मुख्यमन्त्री शर्माले राजीनामा दिएर छैटौँ प्रयासमा कँडेलका लागि मुख्यमन्त्री बन्ने ढोका खुलेको हो ।

Next Post

भारतमा जिप दुर्घटनामा ७ नेपालीको मृत्यु २ जना घाइते

२७ चैत्र २०८०, मंगलवार १८:३४
भारतको नैनितालमा जिप दुर्घटना हुँदा सात नेपाली एकजना भारतीयको मृत्यु भएको छ।दुर्घटना दुई जना नेपाली घाइते भएका हुन । सोमबार राति १० बजे दुई सय मिटर तल खसेर जीव दुर्घटनामा परेको हो। घर फर्किंदै गर्दा नेपाली श्रमिकहरु सवार जिप दुर्घटनामा परेका हुन्। स्थानीय सञ्चार माध्यमहरुका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा ५० […]

सम्बन्धित शीर्षक