कालिकोट । रास्कोट नगरपालिकाको बडिमालिका–देउरा पाटन सडकखण्डअन्तर्गत सेतिकोटसम्मको सडक स्तरउन्नति कार्यको औपचारिक शुभारम्भ भएको छ । सोमबार नगर प्रमुख धर्मराज शाही (पोषण) ले सडक स्तरउन्नति कार्यको शिलान्यास गरेका छन।
स्थानिय पूर्वाधार सहयोग कार्यक्रम (LISP) र रास्कोट नगर सरकारको साझेदारीमा सुरु गरिएको उक्त सडक स्तरउन्नति परियोजनाको शिलान्यास कार्यक्रममा वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न राजनीतिक दलका नेता, स्थानीय बासिन्दा, प्राविधिक शाखाका प्रतिनिधि, नगर प्रहरी प्रमुख तथा आबिस्कार निर्माण सेवाका निर्माण व्यवसायीहरू लगायतको सहभागिता रहेको थियो।
शिलान्यास समारोहमा बोल्दै नगर प्रमुख शाहीले सो सडक स्तरोन्नतिले स्थानीय आवागमन, बजार पहुँच र आर्थिक क्रियाकलापमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। उनले रास्कोट नगरपालिकाले भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताउँदै, जनसहभागिता र पारदर्शिता मार्फत दिगो विकास सुनिश्चित गर्ने प्रतिबद्धता जनाए।
स्थानिय बासिन्दाले सडक सुधारसँगै आवतजावत सहज हुने, कृषिजन्य वस्तुको बजार पहुँच बढ्ने र जनजीवनमा सुधार आउने अपेक्षा व्यक्त गरेका छन्।







