अपडेट

हुम्ला-मुगु सडकखण्डमा ट्याक्टर दुर्घटना : चालकको मृत्यु, १ जना गम्भीर घाइते

  ।   २५ कार्तिक २०८२, मंगलवार ११:२१

सुर्खेत । हुम्ला–मुगु सडकखण्डमा गए राति भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

लु ५ त १२३७ नम्बरको ट्याक्टरले बाजुराबाट हुम्लाको पिपलमुडामा निर्माणाधीन विद्युत् सबस्टेसनका लागि पोल ढुवानी गरिरहेको क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

दुर्घटनामा बाजुरा जिल्ला गौमुल गाउँपालिका–३ का करिब २४ वर्षीय सुरेश रोकायाको घटनास्थलमै मृत्यु भएको छ। सोही ट्याक्टरमा सवार हुम्ला अदानचुली गाउँपालिका–२ का २८ वर्षीय रेशम भण्डारी गम्भीर घाइते भएका छन्। उनलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मुगु लगिएको प्रहरीले जनाएको छ।

सोरुकोट प्रहरी चौकीका इन्चार्ज बलवीर लावडका अनुसार उकालो बाटोमा विद्युत् पोल बोक्ने क्रममा ट्याक्टरको ब्रेक फेल भएर करिब ७०० मिटर तल खसेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

कठिन र जोखिमपूर्ण हुम्ला–मुगु सडक

हुम्ला–मुगु सडकखण्ड कर्णाली प्रदेशका सबैभन्दा कठिन र जोखिमपूर्ण सडकमध्ये एक मानिन्छ। यस सडकमा अधिकांश भाग अजै पनि कच्ची अवस्थामा रहेको र बारम्बार पहिरो, घुम्ती र साँघुरो बाटोका कारण सवारी दुर्घटनाको जोखिम उच्च हुने गरेको छ।

स्थानीयवासीका अनुसार सडकका कतिपय भागमा सुरक्षा रेलिङ, साइनबोर्ड र नियमित मर्मतसंभार नहुँदा सवारी साधन चलाउँदा ठूलो जोखिम व्यहोरिनुपर्ने स्थिति छ।

हालै मात्र विद्युत् सबस्टेसन, पुल र सडक स्तरोन्नति कार्य भइरहेकाले भारी सवारीसाधनको आवाजाही बढेको छ। तर, सडकको भौगोलिक बनावट, कमजोर इन्जिनियरिङ र पर्याप्त ट्राफिक व्यवस्थापन नहुँदा दुर्घटनाको सम्भावना अझ बढेको देखिन्छ।

प्रहरीले कठिन भौगोलिक क्षेत्रका सडकमा विशेष सतर्कता अपनाउन चालकहरूलाई आग्रह गरेको छ। साथै, यस्ता दुर्गम सडकमा चल्ने सवारीसाधनको प्राविधिक परीक्षण र सुरक्षा मापदण्ड सुनिश्चित गर्न सम्बन्धित निकायहरूलाई पनि ध्यान दिन आग्रह गरिएको छ।

Next Post

दलित बालबालिकालाई समाजसेवी कार्मारोङ दम्पतीद्वारा शैक्षिक सामग्री वितरण

२५ कार्तिक २०८२, मंगलवार ११:२१
रतन बहादुर रावल, मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–८ चुगा गाउँका दलित बालबालिकालाई समाजसेवी धोर्चे कार्मारोङ र उनकी धर्मपत्नी पेमा लामु कार्मारोङले शैक्षिक तथा सरसफाइ सामग्री वितरण गरेका छन्। हिमाली जिल्ला मुगुको दुर्गम बस्ती चुगास्थित श्री मालिका आधारभूत विद्यालयमा अध्ययनरत नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूलाई करिब १० हजार रुपैयाँ बराबरका […]

सम्बन्धित शीर्षक