सुर्खेत। सुर्खेत जिल्लाबाटै क्यान्सर रोगको उपचार हुने भएको छ । संघीय सरकारको ‘एक प्रदेश, एक जिल्ला’ बाट सेवा विस्तार गर्ने लक्ष्य अनुरूप जिल्लाबाटै क्यान्सर रोगको उपचार हुने भएको हो ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले सात वटै प्रदेशमा सेवा विस्तार गर्ने भएपछि कर्णाली प्रदेशको सुर्खेत जिल्लाबाट क्यान्सरका रोगीले उपचार पाउने भएका हुन् । संघीय सरकारको कार्यक्रमअन्तर्गत केन्द्रीय क्यान्सर अस्पतालले प्रदेशस्तरमा सेवा विस्तार गर्न लागेको छ ।
क्यान्सर सरुवा रोग नभए पनि यसको प्रकोप बढ्दो छ । बिरामीको चाँप कम गर्न सबै प्रदेशमा सेवा विस्तार गर्न लागिएको भरतपुर क्यान्सर अस्पतालले जनाएको छ । सात वटै प्रदेशमा क्यान्सर रोकथाम र नियन्त्रण तालिम, स्क्रिनिङ तथा बहिरङ्ग सेवा विस्तार गर्ने योजना बनाएको हो ।
अस्पतालका उपनिर्देशक डा। उमेश नेपालले अस्पतालमा आउने बिरामीको चाप कम गर्न र बिरामीलाई उच्चस्तरको सेवा प्रदान गर्नका लागि सेवा विस्तार गर्न लागेको जानकारी दिए । उनले भने, ‘सात वटै प्रदेशमा भदौबाट सेवा विस्तार हुन्छ, सामान्य उपचार प्रदेश–प्रदेशमा गरिनेछ भने जटिल रोगको उपचार केन्द्रीय अस्पतालमै गरिनेछ ।’
हरेक प्रदेशको एउटा सरकारी अस्पतालमा कम्तीमा पाँच शैड्ढयाका क्यान्सर उपचारकक्ष सञ्चालन गर्नेगरी सेवा विस्तार हुने उनले जानकारी दिए । क्यान्सर परीक्षण गर्न अस्पतालको सेवा विस्तार गर्नुपर्ने आवश्यकता भएको हो । कर्णाली प्रदेशको सुर्खेतबाट उक्त सेवा दिइने जनाइएको छ । डा. नेपालका अनुसार हरेक महिना एक साता अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको टोली विस्तारित केन्द्रमा खटिनेछन् । सबै प्रदेशका स्वास्थ्य संस्थासँग समन्वय गरेर सेवा सञ्चालन गरिने छ ।
भौगोलिक विकटताका कारण कर्णालीका अधिकांश बिरामी अन्तिम अवस्थामा अस्पताल पुग्ने गरेका छन् । भौगोलिक विकटताका कारण समयमै क्यान्सर रोगको पहिचान नहुनु प्रमुख कारण रहेको उपनिर्देशक डा। नेपालले बताए । उनका अनुसार अन्य प्रदेशको तुलनामा कर्णालीका अधिकांश बिरामी अन्तिम अवस्थामा अस्पताल पुग्ने गरेका छन् । उक्त समस्यालाई समाधान गर्न सात वटै प्रदेशमा सेवा विस्तार गरिएको उनको भनाइ छ ।
बर्सेनि बढ्दै क्यान्सरका बिरामी
सुर्खेत जिल्लामा क्यान्सर रोगका बिरामी बर्सेनि थपिँदै गएका छन् । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार पछिल्लो समय नसर्ने रोगका बिरामी बढ्न थालेका छन् । त्यसमध्ये पनि क्यान्सर रोगका बिरामीको संख्या धेरै रहेको कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्ष २०८०र०८१ मा सुर्खेत जिल्लामा एक सय दश जना क्यान्सर रोगका बिरामी फेला परेका छन् । यो संख्या उपचारमा सहुलियत लिनका लागि आएकाको हो । गत वर्ष जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतबाट ५० जनाले प्रतिव्यक्ति २० हजारका दरले सहुलियत यातायात खर्च लिएका छन् । अन्य ६० जनाले सहुलियत लिनका लागि निवेदन पेस गरेको कार्यालयले जनाएको छ ।
सहुलियतका लागि गत वर्ष प्रदेश सरकारले कार्यालयलाई दश लाख बजेट पठाएको छ । यसैगरी स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले समेत क्यान्सरका बिरामीलाई उपचार सहुलियत दिने गरेको छ । विपन्न नागरिक यातायात सहायता कार्यक्रममार्फत् रकम दिने गरिएको निर्देशनालयले जनाएको छ ।
गत वर्ष एक सय ३० जना क्यान्सरका बिरामीलाई सहायता रकम दिइएको निर्देशनालयका सूचना अधिकारी नवराज कँडेलले बताए । गत वर्ष प्रदेश सरकारले ‘विपन्न नागरिक यातायात सहायता कार्यक्रम’ का लागि ५० लाख बजेट निर्देशनालयमा पठाएको थियो । उक्त रकमबाट एक सय ३० जना क्यान्सरका बिरामीले सहुलियत यातायात खर्च लिइएका छन् ।
चालु आवमा एक करोड विनियोजन
प्रदेश सरकारले क्यान्सरका रोगीलाई उपचारमा सहायताका लागि चालु आर्थिक वर्षमा एक करोड बजेट विनियोजन गरेको छ । यो वर्ष नयाँ कार्यविधि निर्माण गरेर सहायता रकम वितरण गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ । गतवर्षहरूमा फरक–फरक रूपमा बिरामीलाई यातायात खर्च दिने गरिएको थियो । २० हजारदेखि ३० हजारसम्म दिनेगरिएकोमा यो वर्ष बजेट थप गरेर वितरण गरिने मन्त्रालयका जनस्वास्थ्य महाशाखाका प्रमुख वृषबहादुर शाहीले बताए । उनका अनुसार अप्रेसन भएका क्यान्सरका बिरामीलाई प्रतिव्यक्ति एक लाख दिनेगरी कार्यविधि निर्माण भइरहेको छ । ‘यो वर्ष रकम बढाएर सेवा दिन लागेका छौँ, अहिले कार्यविधि निर्माण भइरहेको छ’ शाहीले भने ।- साझा बिसौनी दैनिकले समाचार लेखेको छ ।