मुख्यमन्त्री कडेलद्वारा उद्घाटन, कर्णालीका १० जिल्लाका कर्मचारी खेलाडीबीच प्रतिस्पर्धा
सुर्खेत । स्थानीय कर्मचारी सेवा सञ्जालको आयोजनामा तथा स्थानीय तह कर्मचारी युनियन नेपाल र कर्णाली प्रदेश क्रिकेट संघ नेपालको समन्वयमा बिरेन्द्रनगरमा अन्तरपालिका कर्मचारी क्रिकेट प्रतियोगिता सुरु भएको छ।

माघ १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले गर्नुभएको हो। उद्घाटन कार्यक्रम स्थानीय कर्मचारी सेवा सञ्जालका संयोजक बिक्रम शाहीको सभाध्यक्षतामा सम्पन्न भएको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कडेलले खेलकुदले कर्मचारीहरूबीच आपसी समझदारी, अनुशासन र सहकार्यको भावना विकास गर्ने बताउनुभयो।

“कर्मचारीहरू जिम्मेवारीपूर्ण सेवाप्रवाहसँगै खेलकुदमा सक्रिय हुँदा उनीहरूको कार्यक्षमता अझ बढ्छ। यस्ता प्रतियोगिताले सकारात्मक सोच र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्छ,” मुख्यमन्त्री कडेलले भन्नुभयो।
कार्यक्रमका संयोजक बिक्रम शाहीले कर्मचारीहरूबीच आपसी भाइचारा, एकता र नेतृत्व विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो।

“कर्णाली प्रदेशका १० वटै जिल्लाबाट आएका स्थानीय तहका कर्मचारी खेलाडीहरू एउटै मञ्चमा प्रतिस्पर्धा गर्दैछन्। यसले खेल भावना सँगै प्रदेशस्तरीय सम्बन्ध मजबुत बनाउनेछ,” शाहीले बताउनुभयो।

प्रतियोगितामा कर्णाली प्रदेशका १० जिल्लाका विभिन्न स्थानीय तहका कर्मचारी क्रिकेट टिमहरूको सहभागिता रहेको छ। आयोजकका अनुसार प्रतियोगिताको विजेता टिमलाई १ लाख रुपैयाँ र उपविजेता टिमलाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।


खेलकुदमार्फत कर्मचारीहरूको प्रतिभा उजागर गर्नुका साथै कर्णाली प्रदेशमा क्रिकेट खेलको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले खेलप्रेमीहरूमा थप उत्साह थपेको छ।

सो कार्यक्रम संचालन स्थानिय सेवा कर्मचारी संजाल सहसचिव हरि प्रशाद भट्टराईले गरेका हुन ।








