हुम्लामा धामीझाँक्रीले स्वास्थ्य सेवातर्फ बिरामी पठाउने ऐतिहासिक प्रतिबद्धता

  ।   २ भाद्र २०८२, सोमबार १५:०३

हुम्ला। गाउँघरमा परम्परागत विश्वास र धार्मिक अभ्यासका कारण बिरामी पहिले धामीझाँक्रीकहाँ जाने चलन अझै जिवित छ। तर अब हुम्लाका विभिन्न देवताका धामीझाँक्रीहरूले बिरामीलाई आफ्नोमा उपचार गर्न ल्याउनु भन्दा पहिले नजिकैको स्वास्थ्य चौकी वा स्वास्थ्य संस्थामा जान सुझाव दिने अठोट गरेका छन्। यसै उद्देश्यका लागि हालै धामीझाँक्री लक्षित अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो। ताँजाकोट गाउँपालिका–२ का मष्टो देवताका धामी असौजे सार्कीले कार्यक्रमको क्रममा धेरै महत्वपूर्ण जानकारी प्राप्त भएको उल्लेख गर्दै भने, “गाउँमा बिरामी परे जो कोही आए पनि पहिलो सन्देश स्वास्थ्य चौकीतर्फ जानुपर्छ। देवता चढेको बेला पनि बिरामीलाई अस्पताल जान सन्देश दिनेछु। यो हाम्रो नयाँ प्रतिबद्धता हो।”

अभिमुखीकरणमा सहभागी धामीहरूले स्वीकार गरे कि गाउँघरमा अझै पनि स्वास्थ्य संस्था भन्दा पहिले धामीझाँक्रीकहाँ जाने प्रचलन बलियो छ। तर जानकारीको कमी र परम्परागत सोचका कारण बिरामीलाई अस्पताल पठाउन ढिलाइ हुने गरेको थियो। यस पटक आयोजित कार्यक्रमले उनीहरूलाई स्वास्थ्य सचेतना, सामाजिक कुरिती र वैज्ञानिक उपचारको महत्त्वबारे ज्ञान गराउन ठूलो भूमिका खेलेको छ। कार्यक्रमको आयोजना आर्युवेद स्वास्थ्य केन्द्रले गरेको थियो। प्रमुख चिकित्सक चाहना शर्माले भनिन्, “धामीझाँक्रीमार्फत जनचेतना फैलाउनु प्रभावकारी उपाय हो। धेरै मानिस बिरामी परे सीधै धामीकहाँ जाने प्रवृत्ति अझै कायम छ। त्यसैले उनीहरूलाई नै सचेत बनाउनु आवश्यक थियो।” उनले थपिन् कि चार घण्टे यस प्रशिक्षणमा गाउँपालिकाका ४० जना धामीझाँक्रीलाई स्वास्थ्य सन्देश र सामाजिक कुरितीविरुद्धका सचेतनामूलक जानकारी दिइयो।

कार्यक्रमको अन्त्यमा सबै धामीझाँक्रीले आफूहरूकहाँ आउने बिरामीलाई स्वास्थ्य चौकी वा नजिकैको स्वास्थ्य संस्थामा पठाउने लिखित प्रतिबद्धतामा हस्ताक्षर गरेका छन्। चिकित्सक शर्माका अनुसार, यस्तै कार्यक्रम अब हुम्लाभरका धामीझाँक्रीलाई लक्षित गरी विस्तार गरिनेछ।

विशेषज्ञहरूले यो कदमलाई ऐतिहासिक र क्रान्तिकारी भनेका छन्। गाउँमा परम्परागत विश्वास र धार्मिक अभ्यासको सम्मान गर्दै पनि आधुनिक स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नु चुनौतीपूर्ण छ। तर यस किसिमको सचेतना र सहभागिताले बिरामीको स्वास्थ्य जोगाउन ठूलो मद्दत पुर्‍याउने आशा गरिएको छ।यस कार्यक्रमले केवल बिरामीलाई आधुनिक स्वास्थ्य संस्थासम्म पुर्‍याउने मात्र नभई गाउँमा वैज्ञानिक उपचारप्रतिको समझ र जनचेतना बढाउने उद्देश्य राखेको छ। अब हुम्लाका गाउँलेहरू परम्परागत विश्वास र स्वास्थ्य सेवा बीच सन्तुलन राख्दै जीवन रक्षा र उपचारको सही मार्ग अपनाउन सक्षम हुनेछन्।

यस नयाँ पहलले धामीझाँक्रीलाई मात्र होइन, गाउँको समुदायलाई पनि स्वास्थ्य सचेतना र सुरक्षामा सहभागी बनाउने प्रभावकारी माध्यमको रूपमा काम गर्ने विश्वास गरिएको छ।