शुभकालिका गाउँपालिकामा सहयात्रा तेस्रो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न

  ।   ४ माघ २०८२, आईतवार २२:४१

कालिकोट। कालिकोट जिल्लाको शुभकालिका गाउँपालिकामा सहयात्रा तेस्रो परियोजना अन्तर्गत वार्षिक समीक्षा तथा परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ। शुभकालिका गाउँपालिकाको समन्वय, सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा भिडिसेफ नेपाल, कालिकोटको साझेदारीमा आयोजित कार्यक्रम गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो।

कार्यक्रममा सेभ द चिल्ड्रेनले आर्थिक वर्ष २०२५ मा सञ्चालन गरेका कार्यक्रमहरूको विस्तृत समीक्षा प्रस्तुत गर्नुका साथै आर्थिक वर्ष २०२६ का लागि तयार पारिएको वार्षिक कार्ययोजनामाथि सरोकारवालासँग छलफल गरिएको थियो।

भिडिसेफ नेपालका कार्यक्रम संयोजक मनबहादुर शाहीले सेभ द चिल्ड्रेनले कर्णाली प्रदेशका पाँच जिल्लामा बालअधिकार संरक्षण, शिक्षा, स्वास्थ्य तथा सामाजिक न्यायका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँका अनुसार संस्थाले विशेषगरी बालबालिका, गरिब तथा विपन्न वर्ग, अल्पसंख्यक, महिला, दलित तथा किशोर–किशोरी लक्षित कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको छ।

उहाँले आर्थिक वर्ष २०२६ मा बालविवाह न्यूनीकरणका क्षेत्रमा उल्लेखनीय प्रगति भएको, गरिब तथा जेहनदार बालबालिकालाई शैक्षिक सहयोग प्रदान गरिएको र विद्यालयहरूमा बालमैत्री शौचालयलगायत आवश्यक भौतिक संरचनाहरू निर्माण गरिएको जानकारी दिनुभयो। यी कार्यक्रमहरूले बालबालिकाको अधिकार संरक्षण र सुरक्षित सिकाइ वातावरण निर्माणमा सकारात्मक प्रभाव पारेको उहाँको भनाइ थियो।

कार्यक्रमका सभाअध्यक्ष तथा शुभकालिका गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद आचार्यले स्थानीय तह र गैरसरकारी संस्थाबीचको सहकार्यबाट मात्र दिगो विकास सम्भव हुने बताउनुभयो। उहाँले भन्नुभयो, “बालबालिकाको संरक्षण, शिक्षा र सशक्तीकरण स्थानीय सरकारको प्रमुख प्राथमिकता हो। सेभ द चिल्ड्रेन र भिडिसेफ नेपालजस्ता संस्थासँगको सहकार्यले हाम्रो पालिकामा सकारात्मक परिवर्तन देखिन थालेको छ। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजान गाउँपालिका प्रतिबद्ध छ।” अध्यक्ष आचार्यले बालविवाह, बालश्रम तथा विद्यालय बाहिर रहेका बालबालिकाको समस्या समाधानका लागि समुदायस्तरमै निरन्तर चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

कार्यक्रममा शुभकालिका गाउँपालिका वडा नं। ५ का वडा अध्यक्ष मिमबहादुर शाही, वडा नं। ८ का वडा अध्यक्ष दिपराज महतारा तथा वडा नं। ४ का वडा अध्यक्ष प्रदीप प्रसाद चौलागाईंलगायतले आ–आफ्ना धारणा राख्दै परियोजनाले समुदायमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्नुभयो।

कार्यक्रममा गाउँपालिकाका कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, पत्रकार, बालबालिका, नागरिक समाजका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले परियोजनालाई निरन्तरता दिनुपर्ने र स्थानीय आवश्यकता अनुसार कार्यक्रमहरू थप विस्तार गर्न सुझाव दिएका थिए।

कार्यक्रमको अन्त्यमा सहयात्रा तेस्रो परियोजना मार्फत बालअधिकार संरक्षण, शिक्षा, स्वास्थ्य तथा सामाजिक न्यायका क्षेत्रमा आगामी दिनमा अझ प्रभावकारी कार्य हुने अपेक्षा व्यक्त गरिएको थियो।

Next Post

स्थानीय कर्मचारी क्रिकेट कप २०८२ सम्पन्न, मुगु विजेता र कालिकोट उपविजेता

४ माघ २०८२, आईतवार २२:४१
सुर्खेत । सुर्खेतमा आयोजना गरिएको स्थानीय कर्मचारी क्रिकेट प्रतियोगिता २०८२ सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा मुगु जिल्ला बिजेता र कालिकोट जिल्ला उपबिजेता बन्न सफल भएका छन्। फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मुगुले १२३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। लक्ष्य पछ्याउने क्रममा कालिकोट निर्धारित रन पूरा गर्न नसकी अलआउट […]

सम्बन्धित शीर्षक