सुर्खेत । संविधान दिवस २०८३ लाई भव्य तथा जनसहभागितामूलक रूपमा मनाउन कर्णाली प्रदेश सरकारले विभिन्न कार्यक्रम तय गरेको छ। प्रदेश राजधानी वीरेन्द्रनगरमा प्रभातफेरी, वृक्षारोपण, दीप प्रज्वलनलगायतका कार्यक्रम गरिनेछ भने कर्णालीका सबै जिल्लामा विविध कार्यक्रम सञ्चालन गरिने भएको छ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री तथा कर्णाली प्रदेश सरकारका प्रवक्ता कल्याणी खड्काले संविधान दिवसका अवसरमा प्रदेशभर सञ्चालन हुने कार्यक्रमबारे जानकारी दिनुभएको छ। उहाँका अनुसार दिवसलाई औपचारिकतामा मात्र सीमित नराखी नागरिक सहभागिता र सामाजिक उत्तरदायित्वसँग जोडेर मनाउने तयारी गरिएको छ।
कार्यक्रमअनुसार असोज ३ गते बिहान ७ बजे वीरेन्द्रनगरको मङ्गलगढी चोकमा भेला भई ७ः१५ बजे ब्यानर तथा प्लेकार्डसहित प्रभातफेरी सुरु हुनेछ। प्रभातफेरीमा प्रदेश सरकारका मन्त्रालय तथा मातहतका कार्यालय, स्थानीय तह, शैक्षिक संस्था, सहकारी, राजनीतिक दल तथा विभिन्न संघसंस्थाको सहभागिता रहनेछ।
प्रभातफेरीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका ब्याण्ड बाजासहितका टोली सहभागी हुने व्यवस्था मिलाइएको छ। सम्बन्धित सुरक्षा निकायलाई आवश्यक समन्वय तथा सहभागिताका लागि पत्राचार गरिनेछ।
संविधान दिवसका अवसरमा कर्णाली प्रदेशका सबै जिल्लामा विविध कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत गरिएको छ। प्रदेशका मन्त्रालय तथा मातहतका कार्यालयका कर्मचारी, वीरेन्द्रनगर नगरपालिकाअन्तर्गतका कर्मचारी, विद्यालयका शिक्षक–कर्मचारी तथा क्याम्पसका विद्यार्थीलाई कार्यक्रममा सहभागी गराउन सम्बन्धित निकायमार्फत पत्राचार गरिने भएको छ।
त्यस्तै, सुर्खेतस्थित सहकारी संघसंस्थालाई मङ्गलगढी चोकमा उपस्थित गराउने जिम्मेवारी भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालयलाई दिइएको छ। प्रदेश तथा जिल्ला तहका राजनीतिक दललाई पनि आफ्ना समर्थक तथा नागरिकको सहभागिता गराउन आग्रह गरिनेछ।
दिवसको अवसरमा असोज ३ गते वृक्षारोपण तथा सरकारी कार्यालय परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ। वातावरण संरक्षण र सार्वजनिक स्थलको सरसफाइलाई दिवसका गतिविधिसँग जोड्ने तयारी गरिएको हो।
त्यसैगरी, असोज ३ गते साँझ ७ः३० बजे वीरेन्द्रनगरस्थित घण्टाघर प्राङ्गणमा दीप प्रज्वलन गरिने भएको छ। उक्त कार्यक्रमको व्यवस्थापन वीरेन्द्रनगर नगरपालिकाले गर्नेछ।
संविधान दिवसको कार्यक्रम असोज ३ मै सीमित नरहने भएको छ। असोज ४ गते रक्तदान कार्यक्रम सञ्चालन गरिनेछ भने रेडियो तथा एफएममार्फत संविधानका विषयमा संवाद तथा परिसंवाद कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ। रक्तदान कार्यक्रमको जिम्मेवारी सामाजिक विकास मन्त्रालयलाई दिइएको छ।
मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता खड्काका अनुसार संविधान दिवसका कार्यक्रमलाई सरकारी समारोहमा मात्र सीमित नराखी नागरिक, युवा, विद्यार्थी, सामाजिक संघसंस्था तथा विभिन्न समुदायको सहभागितामा मनाउने तयारी गरिएको छ। यसका लागि सम्बन्धित सबै निकायलाई आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्न आग्रह गरिएको छ।
कर्णालीमा असोज ३ गते प्रभातफेरीदेखि दीप प्रज्वलनसम्म र असोज ४ गते रक्तदान तथा संविधानसम्बन्धी संवाद कार्यक्रम सञ्चालन हुने भएपछि संविधान दिवसको तयारीलाई व्यापक बनाइएको छ।







