काठमाडौँ । देशभर लगातार तीन दिनसम्म भारी वर्षा हुने पूर्वानुमानसँगै सरकारले आइतबार र सोमबार (असोज १९ र २० गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयका अनुसार मौसम पूर्वानुमान महाशाखा तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सिफारिसका आधारमा बिदा दिने निर्णय गरिएको हो ।
गृहसचिव रामेश्वर दंगालले जारी गरेको सूचनामा भनिएको छ — ‘नेपालका विभिन्न भागमा निरन्तर वर्षा भई जनजीवन प्रभावित हुने भएकाले विपद् व्यवस्थापन र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय बाहेकका सबै सरकारी तथा सार्वजनिक निकायहरूमा आइतबार र सोमबार सार्वजनिक बिदा रहनेछ ।’
मन्त्रालयले सम्भावित विपद् जोखिमका कारण सतर्क रहन र आवश्यक सुरक्षा अपनाउन समेत सर्वसाधारणलाई आग्रह गरेको छ ।








