निरन्तर वर्षा हुँदा मुगु, जुम्ला र हुम्लामा ४ दिन देखि उडान ठप्प

  ।   २३ असार २०८१, शनिबार २१:००

सुर्खेत । हिमाली जिल्ला मुगु, जुम्ला र हुम्लामा वर्षाका कारण चार दिनदेखि हवाईसेवा अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन् ।

निरन्तर वर्षा हुँदा मुगु, जुम्ला र हुम्लामा उडान ठप्प छ । विभिन्न ठाउँमा जाने यात्रु गन्तव्यमा पुग्न नपाउँदा मर्कामा परेका छन् । तीन दिनदेखि जहाजको प्रतीक्षामा रहेका हरिकृष्ण ऐडीले शुक्रबार बसमा काठमाडौँ जानुपरेको बताउनुभयो ।

“मौसममा सुधार आउने अवस्था नदेखेपछि बसको टिकट काट्न बाध्य भए”, उहाँले भन्नुभयो ।

निरन्तरको वर्षाले चार दिनदेखि नेपालगञ्जबाट हवाई उडान नभएको रारा नागरिक उड्डयन कार्यालयका प्रमुख श्रीकृष्ण रिजालले बताउनुभयो । उहाका अनुसार उडान बन्द भएपछि मुगुदेखि नेपालगञ्ज, सुर्खेत, काठमाडौँतर्फ जाने यात्रु र नेपालगञ्ज सुर्खेतबाट मुगुतिर आउने यात्रु विमानस्थलमै रोकिएका छन । आज पनि मौसमका कारण उडान हुने सम्भावना न्यून छ ।

हवाईसेवा अवरुद्ध भएपछि यात्रु जोखिम मोलेर कर्णाली राजमार्गबाट आउजाउ गर्न बाध्य भएका छन् । हुम्लामा पनि वर्षाले तीन दिनदेखि हवाई सेवा अवरुद्ध छ । खराब मौसमका कारण बुधबारदेखि हवाई सेवा अवरुद्ध भएको नागरिक हवाई उड्डयन कार्यालय सिमकोटका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । हवाईसेवा अवरुद्ध भएपछि यात्रु मर्कामा परेका छन् ।

नेपालकै प्रमुख पर्यटकीय क्षेत्र रारा घुम्न आउने पर्यटक रारा विमानस्थलबाट हवाई यात्रा गर्ने गर्दछन । यो विमानस्थलमा निजी तथा सरकारी स्वामित्वको विमानले दैनिक तीन चार उडान भर्दै आएको रारा नागरिक उड्डयन कार्यालय ताल्चाले जनाएको छ ।

Next Post

कर्णाली राजमार्ग अन्तरगर्त कालिकोट खण्डमा मात्रै ६ ठाउँमा पहिरो खस्दा राजमार्ग ठप्प

२३ असार २०८१, शनिबार २१:००
कालिकोट । अविरल वर्षाका कारण पहिरो खस्दा कर्णाली राजमार्ग ठप्प  भएको छ। निरन्तर वर्षाले कालीकोट र दैलेखको सीमानामा पर्ने गगने खोला कालिकोटको एसमोड, हुल्म टिमुरेर र गाल्जेमा पहिरो खस्दा शनिवारदेखि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी पोषण थापाका अनुसार राजमार्ग अवरुद्ध हुँदा सुर्खेतदेखि कालीकोट, जुम्ला, […]