जुम्ला । वर्षा र हिमपातपछि नाग्म-गमगडी सडक अबरुद्ध भएको छ । नाग्म-गमगडी सडक रारा जाने पर्यटकीय मार्ग हिमपातपछि अबरुद्द भएको हो ।
सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चौधरीका अनुसार लगातारको वर्षा र हिमपातले नाग्म-गमगडि सडक खण्डको भुलभुले क्षेत्रमा पहिरो खस्दा र सात मोड क्षेत्रमा बाक्लो हिउँ जमेपछि सडक अबरुद्ध भएको बताउनुभयो । उहाँले भन्नुभयो,’हिउँ र पहिरो पन्छाउन मेसिन सहित जनशक्ति खटिएका छन् । अबरुद्द हटाउने काम जारी छ । वर्षा र हिमपात फेरि भएमा केही असहज हुन सक्छ।’
हरेक वर्ष हिमपातका बेला नाग्म(गमगडी सडक प्राय अबरुद्ध भईरहने र त्यसले गर्दा नागरिकले दुख पाउने समस्यालाई मध्यनजर गरि उक्त क्षेत्रमा लेन्थ वर्कर,डोजर लगायतका जनशक्ति तैथान राखेको डिभिजन प्रमुख चौधरीको भनाई छ ।
सडक अबरुद्द भएपछि मुगुबासी र रारा ताल घुम्न गएका पर्यटकलाई केही असहज भएको छ । मौसममा सुधार आएपछि रारा तालमा हिउँ खेल्न जाने आन्तरिक पर्यटकको घुईचो लाग्ने भएकोले चाडै अबरुद्द खुलाउन जोड दिईएको सडक डिभिजन जुम्लाले जनाएको छ ।
कर्णाली प्रदेशका हिमाली तथा पहाडि जिल्लामा भारी वर्षा र हिमपात भएपछि किसान उत्साहित भएका छन् । लामो समय सम्म वर्षा र हिमपात नहुँदा हिँउदे बाली सुक्ने चिन्तामा रहेका किसान विहिबार रातदेखि वर्षा र हिमपात पछि किसान उत्साहित भएका हुन् ।