कर्णाली प्रदेशभर पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप अभियान

  ।   २७ माघ २०८२, मंगलवार १९:०२

सुर्खेत । कर्णाली प्रदेशभर महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप कार्यक्रम विस्तार गरिएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत प्रदेशका सबै जिल्लामा चरणबद्ध रूपमा नियमित एचपीभी खोप सेवा सञ्चालन हुन लागेको हो ।

वीरेन्द्रनगरमा आयोजित सञ्चारकर्मीहरूको अभिमुखीकरण कार्यक्रममा कर्णाली प्रदेशमा एचपीभी खोप सेवाको महत्व, कार्ययोजना र कार्यान्वयन अवस्थाबारे जानकारी गराइएको छ । कार्यक्रममा जिल्ला खोप समन्वय समिति प्रमुख गंगाराम सुनार, जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख करुणा भट्टराई, वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकाललगायत सरोकारवालाहरूको उपस्थिति थियो ।

कार्यक्रमका प्रशिक्षक डा। सुवास शर्माले एचपीभी खोप सुरक्षित, प्रभावकारी र दीर्घकालीन रूपमा जीवनरक्षक भएको स्पष्ट पार्दै समयमै खोप लगाउन सके पाठेघरको मुखको क्यान्सरको जोखिम अत्यन्तै न्यून गर्न सकिने बताउनुभयो । उहाँका अनुसार कर्णाली प्रदेशभर नियमित एचपीभी खोप सेवा फागुन १ गतेदेखि सुरु हुनेछ । खोप विद्यालय वा नजिकको स्वास्थ्य संस्थामार्फत उपलब्ध गराइनेछ ।

यो खोप कक्षा ६ देखि १० सम्म अध्ययनरत सबै छात्रा, विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीहरू, साथै गत वर्ष खोप लगाउन छुट भएका कक्षा ७ देखि १० सम्मका छात्रा र ११ देखि १४ वर्ष उमेरका विद्यालय बाहिरका किशोरीहरूलाई निःशुल्क रूपमा प्रदान गरिनेछ ।

यसै क्रममा कर्णाली प्रदेशका हिमाली तथा दुर्गम जिल्लासमेत समेट्ने गरी खोप अभियान सञ्चालन गरिने स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ । कालिकोट जिल्लामा मात्रै १ हजार ८ सय १३ जना किशोरीलाई खोप लगाउने लक्ष्यसहित १ सय ३२ वटा खोप केन्द्र तोकिएको जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिनुभयो । यस्तै लक्ष्यअनुसार हुम्ला, जुम्ला, मुगु, डोल्पा, जाजरकोट, रुकुम पश्चिम, सल्यान, दैलेख र सुर्खेतलगायत जिल्लामा पनि खोप केन्द्र निर्धारण गरिएको छ ।

कार्यक्रममा सहभागी डा। कमल भण्डारीले नेपालमा महिलामा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख समस्याका रूपमा रहेको उल्लेख गर्दै एचपीभी खोपले यस रोग नियन्त्रणमा क्रान्तिकारी भूमिका खेल्ने बताउनुभयो । उहाँले अभिभावक, विद्यालय र स्थानीय तहको सक्रिय सहयोगबिना लक्ष्य पूरा गर्न कठिन हुने भन्दै सबैलाई अभियानमा सहभागी हुन आग्रह गर्नुभयो ।

स्वास्थ्य निकायका अनुसार कर्णाली प्रदेशजस्तो भौगोलिक रूपमा चुनौतीपूर्ण क्षेत्रमा एचपीभी खोप अभियान महिलाको दीर्घकालीन स्वास्थ्य सुरक्षातर्फको ऐतिहासिक कदम हो । लक्षित समूहका किशोरी तथा अभिभावकहरूलाई खोप कार्यक्रममा ढुक्क भएर सहभागी हुन आग्रह गरिएको छ ।

Next Post

निर्वाचनको मुखमा दलित अपमान फैलाउने षड्यन्त्र : नेकपा कालिकोट

२७ माघ २०८२, मंगलवार १९:०२
कालिकोट । सामाजिक सञ्जालमा दलित समुदायमाथि अपमानजनक अभिव्यक्ति फैलाइएको घटनाप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कालिकोटले कडा आपत्ति जनाएको छ। पार्टीले प्रतिनिधिसभा निर्वाचनमा कालिकोटबाट उम्मेदवार बनेका क। महेन्द्रबहादुर शाहीको नाम जोडेर फेक आइडी प्रयोग गरी गरिएको दुष्प्रचार सुनियोजित र योजनाबद्ध रहेको ठहर गरेको छ। डम्बरहादुर शाही र चित्रसिंह गाउँलेद्वारा संयुक्त रूपमा […]