सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा कर्णाली प्रदेशको राजधानी बनेसँगै बढ्दो जनसङ्ख्या र शहरीकरणलाई मध्यनजर गर्दै वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्र चोकमा ट्राफिक लाइट सञ्चालनमा ल्याएको छ ।
सवारी चाप र दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले नगरपालिकाले बुधबारदेखि ट्राफिक लाइट सञ्चालनमा ल्याइएको हो । पहिलो पटक वीरेन्द्रनगर नगरपालिकाले सडक सुरक्षा र सवारी सञ्चालनमा नयाँ अभ्यासको सुरुवात गरेको छ । नगरपालिकाले ट्राफिक लाइट सञ्चालनको जिम्मेवारी जिल्ला ट्राफिक कार्यालय सुर्खेतलाई हस्तान्तरण गरेको छ । नगर प्रमुख मोहनमाया ढकालले ट्राफिक लाइट सञ्चालनको जिम्मेवारी ट्राफिक कार्यालयलाई हस्तान्तरण गर्दै मुख्य सडकहरु व्यवस्थित हुने र पैदलयात्रीहरुको सुरक्षित र सहज बनाउन सहयोग पुग्ने बताइन् । यसले ट्राफिक प्रहरीको कामलाई पनि प्रभावकारी बनाउने उनले अपेक्षा गरे ।
नगरप्रमुख ढकालले ट्राफिक नियमको पालना गर्न पनि सबैलाई आग्रह गरिन् । उनले भनिन्, वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशको राजधानी भएसँगै तीव्र रुपमा जनसङ्ख्या बढेको छ । शहरीकरण बढेको छ । सँगै सवारी साधनहरुको तिव्र गति बढेको छ । यस समयमा वीरेन्द्रनगरलाई व्यवस्थित शहर बनाउन हामीले केही थालनी गरेका छौँ । सडक सुरक्षालाई पनि प्राथमिकतामा राखेर ट्राफिक लाइट सञ्चालनमा ल्याएका छौँ ।
नगरपालिकाले आगामी दिनमा अन्य व्यस्त सडक तथा मुख्य चोकहरूमा पनि ट्राफिक लाइट विस्तार गरिने योजना रहेको जनाएको छ । मङ्गलगढी, दैलेख रोड चोक, एयरपोर्ट र यरिचौकमा पनि ट्राफिक लाइट निकट भविष्यमै जाडन गरिने नगर प्रमुख ढकालले बताइन् । साथै नगरपालिकाले यहीँ वर्ष मंगलगढी चौकमा आकाशे पुल निर्माण शुरूवात गरेको छ । उनले नगरपालिकामा फुटपात व्यवस्थापन, मङ्गलगढी, एरिचोकलायतका ठाउँहरुमा ठुला क्षमताका सिसिटिभी क्यामेराहरु जडान गरिने बताइन् ।