सुर्खेत । वीरेन्द्रनगर जुनियर जेसीज को आयोजनामा संयुक्त क्षेत्र नं. २ का उम्मेदवारहरूसँग गरिएको प्रत्यक्ष संवाद कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने र मतदातालाई सूचित निर्णय लिन सहयोग पुर्याउने उद्देश्यसहित आयोजित उक्त कार्यक्रमले स्थानीय राजनीतिक वातावरणलाई थप सक्रिय र जिम्मेवार बनाएको आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि अनिल बहादुर साहिले जेसीजले आयोजना गरेको यस्ता प्रकारका प्रत्यक्ष संवाद कार्यक्रमले नागरिकलाई सुसूचित बनाउने अवसर प्रदान गर्ने उल्लेख गरे। उनले चुनावमा उम्मेदवार जिते वा हारे पनि सामाजिक कार्यमा निरन्तर लागिरहनुपर्ने धारणा व्यक्त गर्दै लोकतन्त्रमा सहकार्य र सामाजिक उत्तरदायित्वको भावना आवश्यक रहेको बताए।
कार्यक्रममा उम्मेदवारहरूले आफ्ना भावी योजना, विकासका प्राथमिकता, पारदर्शिता तथा सुशासनप्रति प्रतिबद्धता सार्वजनिक रूपमा व्यक्त गरे। साथै सहभागी सर्वसाधारणले प्रत्यक्ष रूपमा प्रश्न राख्दै “आम नागरिकले तपाईंलाई किन भोट दिनेरु” भन्ने जिज्ञासासहित विभिन्न समसामयिक विषयमा स्पष्ट धारणा माग गरेका थिए। यसले कार्यक्रमलाई अझै अन्तरक्रियात्मक र प्रभावकारी बनाएको थियो।
जुनियर जेसीज वर्ष २०२६ का अध्यक्ष किसोर न्यौपानेका अनुसार यस्ता कार्यक्रमले मतदाता र उम्मेदवारबीच प्रत्यक्ष संवादको वातावरण सिर्जना गरी लोकतान्त्रिक संस्कार मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
उक्त कार्यक्रममा विभिन्न संघ–संस्था, सञ्चारमाध्यम तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले कार्यक्रमलाई पारदर्शिता र जवाफदेहितातर्फको सकारात्मक अभ्यासका रूपमा लिएका छन्।
यस किसिमका संवाद कार्यक्रमले स्थानीय तहमा राजनीतिक सचेतना अभिवृद्धि गर्नुका साथै स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धाको संस्कार विकास गर्न टेवा पुग्ने विश्वास गरिएको छ।
कार्यक्रमको सञ्चालन सुर्खेत महिला जेसीज वर्ष २०२६ की महासचिव भावना रानाले गरेकी थिइन्। उनले कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी रूपमा अगाडि बढाएकी थिइन्।







