कर्णाली प्रदेशका उच्च हिमाली जिल्लामा फागुन ९–११ भित्र मतपत्र ढुवानी

  ।   १० फाल्गुन २०८२, आईतवार १३:०७

सुर्खेत। आसन्न निर्वाचनलाई लक्षित गर्दै कर्णाली प्रदेशमा मतपत्र ढुवानीको तयारी अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोग का सचिव कृष्णबहादुर राउत ले फागुन ९, १० र ११ गतेभित्र हुम्ला, मुगु र डोल्पा जस्ता उच्च हिमाली जिल्लामा मतपत्र पुर्‍याइसक्ने योजना रहेको जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय सुर्खेत, वीरेन्द्रनगरमा बसेको प्रदेश निर्वाचन सुरक्षा समितिको बैठकमा सचिव राउतले विशेष परिस्थितिमा हुन लागेको निर्वाचन सफल बनाउन आयोगले कुनै कसर बाँकी नराखेको स्पष्ट पारे। उनका अनुसार मतदान सामग्रीसहित मतदान केन्द्रमा खटिने कर्मचारीको भत्ता, ढुवानी खर्च तथा आवश्यक हेलिकप्टर व्यवस्थापनका लागि बजेट निकासा भइसकेको छ। “आवश्यकता अनुसार थप व्यवस्थापन गर्दै जानेछौं,” उनले भने।

फागुन १० गतेदेखि महिनाको अन्त्यसम्मको मौसम पूर्वानुमानलाई आधार मानेर ढुवानी तालिका तय गरिएको छ। यसका लागि जल तथा मौसम विज्ञान विभाग सँग समन्वय गरिएको सचिव राउतले बताए। तीन हजार मिटरभन्दा माथिका क्षेत्रमा लेक लाग्ने जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित जिल्ला निर्वाचन कार्यालयहरूलाई औषधि खरिदका लागि बजेटसमेत पठाइएको छ।

बैठकमा हिमाली जिल्लामा निर्वाचनपूर्व र निर्वाचनपश्चात् मतदान केन्द्रमा खटाइने कर्मचारीको सुरक्षित आवागमन सुनिश्चित गर्न सुरक्षा निकायका प्रमुखहरूले विशेष ध्यानाकर्षण गराएका थिए। साथै, निर्वाचनमा खटिने कर्मचारीलाई आफ्नो मताधिकार प्रयोग गर्ने अवसर उपलब्ध गराउनुपर्नेमा पनि जोड दिइएको थियो।

बैठकमा प्रदेश कमान्ड पोष्टका संयोजक तथा कर्णाली प्रदेश सरकारका निमित्त सचिव लक्ष्मीकुमार विक र जिल्ला कमान्ड पोष्टका अध्यक्ष एवं सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले निर्वाचन तयारी, सुरक्षाका चुनौती र सम्भावित समस्याबारे प्रस्तुति दिएका थिए।

कर्णालीका दुर्गम र हिमाली भूगोलका चुनौतीबीच पनि निर्धारित समयमै मतपत्र पुर्‍याएर निर्वाचन सम्पन्न गर्ने तयारी तीव्र पारिएको आयोगले जनाएको छ।

Next Post

कालिकोट बाईक दुर्घटनामा परि न्यौपानेको निधन

१० फाल्गुन २०८२, आईतवार १३:०७
कालिकोट । कर्णाली राजमार्ग अन्तर्गत खाँडाचक्र नगरपालिका–२ जितेबजार नजिक मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। बाईक दुर्घटनामा परी कर्णाली जेसिज वर्ष २०२६ का उपाध्यक्ष जनम प्रसाद न्यौपानेको निधन भएको हो । उहाँको असामयिक निधनले सिंगो कालिकोट जिल्ला शोकमा डुबेको छ। जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार आज बिहान करिब ७:३० […]

सम्बन्धित शीर्षक