सातौँ साधारण सभा तथा तेस्रो अधिवेशन सुरु नयाँ नेतृत्व चयनले कर्णालीको निर्माण क्षेत्रको भावी दिशा तय गर्ने अपेक्षा
सुर्खेत । निर्माण व्यवसायी महासंघ, कर्णाली प्रदेशको सातौँ साधारण सभा तथा तेस्रो अधिवेशन सोमबार वीरेन्द्रनगर, सुर्खेतमा औपचारिक रूपमा उद्घाटन भएको छ। उद्घाटन सत्र सम्पन्न भएसँगै बन्दसत्रको तयारी भइरहँदा महासंघको नयाँ नेतृत्वलाई लिएर चुनावी चर्चा तीव्र बनेको छ।

दुई दिनसम्म सञ्चालन हुने अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने भएकाले कर्णाली प्रदेशभरका निर्माण व्यवसायीहरूको ध्यान यतिबेला अधिवेशनतर्फ केन्द्रित भएको छ। प्रदेशभरबाट आएका प्रतिनिधि, निर्माण व्यवसायी तथा महासंघका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको अधिवेशनमा नेतृत्व चयन नै मुख्य आकर्षण बनेको छ।
महासंघको अध्यक्ष पदका लागि वरिष्ठ उपाध्यक्ष भक्ति प्रसाद न्यौपाने र महासचिव मानव बम मुख्य दाबेदारका रूपमा चर्चामा छन्। दुवै उम्मेदवारबीच सहमतिमै नेतृत्व चयन हुनुपर्ने आवाज संगठनभित्र उठिरहेको भए पनि हालसम्मको गतिविधिले प्रतिस्पर्धात्मक निर्वाचन हुने सम्भावना बलियो देखिएको छ।

कालिकोटको रास्कोट नगरपालिका निवासी भक्ति प्रसाद न्यौपानेले २०६८ सालदेखि निर्माण व्यवसायी संगठनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। सह–कोषाध्यक्षबाट सुरु भएको उनको संगठनात्मक यात्रा क्षेत्रीय सचिव, प्रदेश सचिव, महासचिव हुँदै हाल वरिष्ठ उपाध्यक्षसम्म पुगेको छ। संगठनका विभिन्न तहमा काम गरेको अनुभवलाई उनले आफ्नो प्रमुख शक्ति बनाएका छन्।
न्यौपानेले कर्णालीको निर्माण क्षेत्र अन्य प्रदेशभन्दा फरक र चुनौतीपूर्ण रहेको उल्लेख गर्दै दुर्गम भूगोल, ढुवानी लागत, मौसमजन्य अवरोध, समयमै भुक्तानी नहुने समस्या, निर्माण सामग्रीको मूल्यवृद्धि र नीतिगत जटिलता समाधानका लागि अनुभवी नेतृत्व आवश्यक रहेको बताएका छन्। आफू निर्वाचित भए व्यवसायीको हक–हित संरक्षण, समयमै भुक्तानी सुनिश्चित गर्न पहल, पारदर्शी ठेक्का प्रणाली, क्षमता अभिवृद्धि, युवा व्यवसायीलाई प्रोत्साहन तथा गुणस्तरीय पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्ने उनको प्रतिबद्धता छ।
यता निर्माण ब्यवसाय महासंघ कर्णाली प्रदेश महासचिव, बसना निर्माण सेवाका निर्देशक तथा रास्कोट नगरपालिका निवासी मानव बमले पनि अध्यक्ष पदमा बलियो दाबी प्रस्तुत गरेका छन्। लामो समयदेखि निर्माण व्यवसायमा सक्रिय बम संगठनभित्र समन्वयकारी र व्यवसायीहरूको साझा आवाजका रूपमा परिचित मानिन्छन्।
बमले निर्माण व्यवसायीहरूको हक–हित संरक्षण, व्यवसायमैत्री वातावरण निर्माण, पारदर्शी र उत्तरदायी नेतृत्व, संस्थागत सुदृढीकरण तथा सार्वजनिक खरिद प्रक्रिया, भुक्तानी व्यवस्थापन र नीतिगत सुधारलाई आफ्नो नेतृत्वको मुख्य प्राथमिकतामा राख्ने बताएका छन्। कर्णालीका सबै जिल्लाका निर्माण व्यवसायीलाई एउटै सूत्रमा आबद्ध गर्दै महासंघलाई अझ प्रभावकारी संस्थाका रूपमा विकास गर्ने उनको योजना छ।
अधिवेशनस्थलमा यतिबेला उम्मेदवारहरूबीच प्रतिनिधिसँग भेटघाट, छलफल र समर्थन जुटाउने गतिविधि तीव्र बनेको छ। यद्यपि अन्तिम समयमा सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास पनि जारी रहेको स्रोतहरूको भनाइ छ। सहमति नभए अध्यक्षसहित अन्य पदमा निर्वाचन हुने सम्भावना बढ्दै गएको छ।
समृद्धिका लागि विकास निर्माणु भन्ने मूल नारासहित सञ्चालन भइरहेको यस अधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले महासंघको आगामी कार्यदिशा मात्रै होइन, कर्णाली प्रदेशका विकास निर्माण आयोजना, निर्माण व्यवसायीको अधिकार संरक्षण, सरकारसँगको समन्वय तथा पूर्वाधार विकासको गतिमा समेत दीर्घकालीन प्रभाव पार्ने अपेक्षा निर्माण व्यवसायीहरूले गरेका छन्।







