जुम्ला । चन्दननाथ नगरपालिकाले १४ जना नगर प्रहरी भर्ना गरेको छ । नगरले नगर प्रहरी सहायक निरीक्षक जंगबहादुर बुढासहित १४ जना नगर प्रहरी भर्ना गरेको हो ।
नगरपालिकाले सशस्त्र प्रहरी वल नं ३३ त्रिपुरा गण जुम्लाले उनिहरुको नगर प्रहरी आधारभूत तालिम सम्पन्न गरेर अन्तिम दिक्षान्त समारोह गर्दै १४ जना नगर प्रहरी भर्ना भएको जानकारी गरिएको छ ।
सशस्त्र प्रहरी बल त्रिपुणागण जुम्लाले अन्तिम दिक्षान्त सामारोह गर्दै नगरप्रहरीलाई पासआउट गरेको छ । उनिहरुलाई नगरउपप्रमुख रामदेवी खड्का, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, सशस्त्र प्रहरी उपरीक्षक लालबहादुर शाही, नेपाली सेनाका प्रमुख सेनानी लक्ष्मी गौतमले दर्जानी चिन्ह प्रदान गरेका छन्, भने चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेबाट नगरप्रहरीलाई सपथ ग्रहण गरिएको छ ।
तालिमसहित अन्तिम दिक्षान्तमा नगरप्रहरीमा सफल हुनेमा नगरप्रहरी सहायक निरीक्षक जंगबहादुर बुढा, नगरप्रहरी जवानहरु हर्ष बुढ्थापा, हर्क कुलाला, भैरव सिंह रावल, अनिता सुनार, महेन्द्र बिष्ट, रामबहादुर गुरुङ, लिलामनि न्यौपाने, सुनिता हमाल (खत्री), दिपेश न्यौपाने, शक्ति सुनार, धिरेन्द्रनाथ योगी, पुष्पा भण्डारी र सरस्वति जिसी रहेका छन् । उनिहरु सबै चन्दननाथ नगरपालिका भित्रका रहेका छन् ।
सशस्त्र प्रहरी नं ३३ त्रिपुरा गण जुम्लाका प्रमुख लालबहादुर शाहीका अनुसार एक महिने आधारभूत तालिमबाट १० पुरुष र चार जना महिला गरी १४ जनालाई एक महिने तालिम दिइएको र उनीहरुलाई अन्तिम दिक्षान्त समारोह गरेर तालिम पूर्णता गरी नगरप्रहरीको दर्जानी चिन्ह दिएको छ । उनले तालिम अवधिमा सहयोग गर्ने सर्वलाई धन्यवाद ज्ञापन गरे ।
नगरप्रहरी दिक्षान्त समारोहमा बोल्दै चन्दननाथ नगरपालिकाका नगरउपप्रमुख खड्काले नगरपालिकाको विकास र समृद्धिमा नगरप्रमुखको मुख्य भूमिका रहने भएकाले कानुन अनुसार काम गर्नुपर्ने बताए । उनले नगरप्रहरी सहायक निरीक्षकसहित सबैलाई बधाइ दिदै नगरको शान्ति सुरक्षासहित सफा नगर अभियानदेखि नगरपालिकाका विभिन्न काममा सघाउने उनको भनाइ रहेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले नगरप्रहरीले नगरको प्राविधिक शान्ति सुरक्षा दिने, कानुनको कार्यान्वयत गराउने, सार्वजनिक सेवा प्रवाहमा सहजता ल्याउने, फोहोरमैला व्यवस्थापन, राजूव सङ्कलनमा जोड दिने, बजार व्यवस्थापन, सार्वजनिक सम्पतिको सुरक्षा गर्ने, नगर र वडा कार्यालय माताहातका कार्यालयको सुरक्षा व्यवस्था मिलाउने, विपत व्यवस्थापान, हाट बजार लगायतका कामहरु व्यवस्थापन गर्ने लगायतका कामहरु हुने जानकारी दिए । उनका अनुसार सुरुमा नगरप्रहरीका लागि नगरपालिकामा १२८ जनाले आवेदन दिएका थिए ।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले स्थानीय तह अधिकार प्रयोग गर्दै नगर प्रहरी राखेर नगरपालिकाको समृद्धिका लागि काम गरेकोमा नगरपालिकालाई धन्यवाद ज्ञापन गर्दै नगरप्रहरीले नियम कानुन अनुसार काम गर्नेमा जोड दिए । उनले नगरपालिकाले जनशक्ति उत्पादन गरेको तर अब व्यहारमा कसरी काम हुन्छ भन्ने विषय महत्त्वपूर्ण भएकाले राम्रो काम गर्न अनुरोध गरे ।