प्रहरी जवान परीक्षामा संगठित किर्ते, सुर्खेतमा १२ जना पक्राउ

  ।   १८ माघ २०८२, आईतवार २०:३७

सुर्खेत। लोकसेवा आयोग सुर्खेत कार्यालयमा सञ्चालन भइरहेको प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा व्यापक किर्ते र अनियमितता फेला परेको छ। अर्काको नाममा परीक्षा दिइरहेका १० जना नक्कली परीक्षार्थी र उनीहरूलाई सहयोग गर्ने २ जना गरी कुल १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।

परीक्षामा शंकास्पद गतिविधि देखिएपछि प्रहरीद्वारा निगरानी कडा पारिएको थियो। सोही क्रममा परीक्षा हलमै गरिएको छापामा नागरिकता, प्रवेशपत्र, फोटो र हस्ताक्षर नमिलेका परीक्षार्थी फेला परेपछि यो संगठित किर्ते प्रकरण खुलासा भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

आर्थिक प्रलोभनमा किर्ते

प्रहरीका अनुसार पक्राउ परेकाहरूले आर्थिक लाभ लिने उद्देश्यले सक्कली परीक्षार्थीहरूको नागरिकता र प्रवेशपत्रमा फोटो तथा हस्ताक्षर परिवर्तन गरी अर्कै व्यक्तिलाई परीक्षा दिन लगाएका थिए। प्रारम्भिक अनुसन्धानमा जाजरकोट, दैलेख, सुर्खेत र बाँके जिल्लाका युवाहरू मिलेर संगठित गिरोहका रूपमा काम गरेको देखिएको छ।

को–को परे पक्राउरु

नक्कली परीक्षार्थीका रूपमा पक्राउ पर्नेमा जाजरकोट छेडागाड–११ का १९ वर्षीय केशव थापा, दैलेख दुल्लु–०१ का १८ वर्षीय रमेश नेपाली, सुर्खेत गुर्भाकोट–१३ का २४ वर्षीय वीरबहादुर ठाडा, जाजरकोट छेडागाड–१० का १९ वर्षीय चन्द्र शाह, जाजरकोट कुसे–०२ का २३ वर्षीय नवराज विक, बाँके बैजनाथ–०२ का २४ वर्षीय रामु कार्की र बाँके बैजनाथ–०१ का २५ वर्षीय मोतिलाल थारु रहेका छन्।

त्यसैगरी, सक्कली परीक्षार्थी भएर नक्कली व्यक्तिलाई परीक्षा दिन सघाउनेमा जाजरकोट कुसे–०२ का १९ वर्षीय बिपेश सिंह, १८ वर्षीय सूर्य किरण शाही, २१ वर्षीय निरज शाही, जाजरकोट जुनेदाचाँदे–०१ का १८ वर्षीय ललित रावल तथा मतियारको भूमिकामा संलग्न वीरेन्द्रनगर–०९ का २६ वर्षीय पूर्णबहादुर सिंह रहेका छन्।

थप अनुसन्धान जारी

पक्राउ परेका सबै १२ जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखी लिखत किर्ते तथा आपराधिक लाभसम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यस घटनाले लोकसेवा आयोगमार्फत सञ्चालन हुने संवेदनशील सरकारी परीक्षाको विश्वसनीयता, सुरक्षा व्यवस्था र निगरानी प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ।

Next Post

आगलागीमा गम्भीर घाइते कला पाण्डेको उपचारका लागि सहयोग अपिल

१८ माघ २०८२, आईतवार २०:३७
कालिकोट । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने मान्यतालाई आत्मसात् गर्दै सधैं दुःखी, पीडित र असहायका पक्षमा उभिँदै आएका कर्णाली जेसिज वर्ष २०२५ का अध्यक्ष एवं समाजसेवी खगेन्द्र पाण्डेको परिवार आज गम्भीर मानवीय संकटको सामना गरिरहेको छ। उहाँकी हजुरआमा कला पाण्डे मिति २०८२ साल माघ १३ गते आफ्नै […]