काठमाडौं। न्याय, अधिकार र प्रणालीगत परिवर्तनको मागसहित निरन्तर अघि बढिरहेको Z जी आन्दोलनले सिंहदरबारमा सरकारको ध्यानाकर्षण गराएको छ। आन्दोलनका प्रतिनिधिहरूले माननीय गृहमन्त्री ओमप्रकाश आर्यालज्यूसँग भेट गरी जनताका ज्वलन्त मुद्दाहरू प्रत्यक्ष, निर्भीक र तथ्यसहित प्रस्तुत गरेका छन्।
भेटका क्रममा आन्दोलनले Z जी आन्दोलनका शहीद तथा पीडितहरूलाई अझैसम्म न्याय नदिइनु राज्यको गम्भीर असफलता भएको ठहर गर्दै तुरुन्त निष्पक्ष छानबिन र न्यायिक प्रक्रियाको माग गरेको छ। आन्दोलन जन्मिनुको मूल कारण बनेको व्यापक भ्रष्टाचारप्रति कडा असन्तोष व्यक्त गर्दै यसलाई केवल प्रशासनिक कमजोरी होइन, राज्य संरचनामै गडेको गम्भीर समस्याका रूपमा प्रस्तुत गरिएको थियो।
यसैगरी, विदेशमा रहेका लाखौँ नेपाली नागरिकहरूलाई मतदान अधिकारबाट वञ्चित गर्नु लोकतान्त्रिक मूल्य र संवैधानिक अधिकारको ठाडो उल्लङ्घन भएको भन्दै तत्काल कानुनी तथा प्राविधिक व्यवस्था मिलाउन सरकारलाई आग्रह गरियो। नेपालभित्रै रोजगारी, शिक्षा वा बसाइँसराइका कारण फरक जिल्लामा बसोबास गरिरहेका नागरिकहरूको मतदान अधिकार सुनिश्चित गर्नुपर्ने माग पनि स्पष्ट रूपमा उठाइयो।
आन्दोलनले जोड दिएर भनेको छ— लोकतन्त्र कुनै निश्चित वर्ग, भूगोल वा पहुँच भएका नागरिकहरूका लागि सीमित हुन सक्दैनस यो सबै नेपालीका लागि समान रूपमा लागू हुनुपर्छ।
भेटका क्रममा माननीय गृहमन्त्रीज्यूसमक्ष आफ्नो कार्यकाल, निर्णय तथा भूमिकाप्रति पूर्ण रूपमा जवाफदेही बन्नुपर्ने स्पष्ट चेतावनी दिइयो। जनताको आवाज र अधिकारलाई बेवास्ता गरिए श् जी आन्दोलन अझ सशक्त रूपमा अगाडि बढ्ने संकेतसमेत दिइएको छ।
आन्दोलनका प्रतिनिधिहरूले स्पष्ट शब्दमा भने—Z जी आन्दोलन कुनै सत्ता प्राप्ति, पदलाभ वा राजनीतिक स्वार्थका लागि होइन। यो आन्दोलन न्याय, नागरिक अधिकार, पारदर्शिता र प्रणालीगत रूपान्तरणका लागि जनताबाट उठेको साझा आवाज हो।
जनताको आवाज सुन्ने कि बेवास्ता गर्ने भन्ने निर्णय अब सरकारको हातमा छ।तर Z जी आन्दोलन जनताको पक्षमा, सत्यको पक्षमा र परिवर्तनको पक्षमा दृढताका साथ अगाडि बढिरहने प्रतिबद्धता व्यक्त गरेको छ।






