कालिकोट । कालिकोटको रास्कोट नगरपालिकामा एकै दिन तीन वटा पक्की वडा कार्यालय भवनको उद्घाटन सम्पन्न भएको छ। नगरपालिकाको वडा नम्बर ६, ८ र ९ मा निर्माण सम्पन्न भएका वडा कार्यालय भवनहरूको संयुक्त रूपमा उद्घाटन गरिएको हो।

उद्घाटन कार्यक्रम नगर प्रमुख धर्मराज शाही पोषण र उप–प्रमुख मनिराज बरालले संयुक्त रूपमा गर्नुभएको थियो। कार्यक्रममा सम्बन्धित वडाका वडा अध्यक्षहरू, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख शाहीले पक्की वडा कार्यालय भवन निर्माणपछि स्थानीय सरकारबाट प्रदान गरिने सेवा–सुविधा अझ सहज, छरितो र प्रभावकारी हुने बताउनुभयो। उहाँले भन्नुभयो, “वडा कार्यालय आफ्नै भवनमा सञ्चालन हुँदा सेवाग्राहीलाई सेवा लिन सहज हुन्छ, कर्मचारीलाई पनि जिम्मेवारीपूर्वक काम गर्न वातावरण बन्छ।”

त्यस्तै, उप–प्रमुख मनिराज बरालले रास्कोट नगरपालिकाको समग्र विकासका लागि सबै राजनीतिक दल र जनप्रतिनिधिहरू एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। “रास्कोटका जनताको हितका लागि विकासलाई साझा एजेन्डा बनाएर सबै दल मिलेर अघि बढ्दा नगरले अझ ठूलो फड्को मार्नेछ,” उहाँको भनाइ थियो।
स्थानीयवासीहरूले पनि एकै दिन तीन वटा वडा कार्यालय भवन उद्घाटन हुनुलाई नगरको विकास यात्रामा महत्वपूर्ण उपलब्धि भएको भन्दै खुसी व्यक्त गरेका छन्। नयाँ भवन सञ्चालनमा आएसँगै अब वडा तहबाट प्रदान गरिने सेवा अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।







