हुम्लामा मध्यरातको आगलागीले ३ घर जले, दम्पती घाइते

  ।   ११ पुष २०८२, शुक्रबार ०८:४४

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–६ रिपमा गएराति भएको भीषण आगलागीमा एक दम्पती घाइते भएका छन्। घाइतेमध्ये श्रीमान् लैबा फडेराको अवस्था गम्भीर रहेको छ भने उनकी श्रीमती बम्बु फडेराको अवस्था सामान्य रहेको जिल्ला अस्पताल सिमकोटले जनाएको छ।

आगलागीमा घाइते दुवै जनालाई आज बिहान करिब २ बजे एम्बुलेन्समार्फत जिल्ला अस्पताल सिमकोट ल्याइएलगत्तै उपचार सुरु गरिएको थियो। जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. उमाकान्त तिवारीका अनुसार लैबा फडेराको ५४ प्रतिशत र बम्बु फडेराको १८ प्रतिशत शरीर जलेको छ।

लैबा फडेराको अवस्था जटिल रहेकाले उनलाई उच्च उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको अस्पतालले जनाएको छ। आज बिहान जहाज उपलब्ध हुनेबित्तिकै प्रदेश अस्पताल वा अन्य सुविधा सम्पन्न अस्पताल पठाउने तयारी भइरहेको छ।

आगलागी हिजो राति करिब ११ बजे सुरु भएको थियो। आगलागीका कारण लैबा फडेरा, जयराम फडेरा र क्रान्ति फडेराका घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। साथै छिमेकी केही घरका लत्ताकपडा, अन्नपात र घरायसी सामग्रीसमेत जलेर क्षति पुगेको छ।

स्थानीयवासीको सक्रिय प्रयासपछि आगो आज बिहान साढे २ बजे नियन्त्रणमा ल्याइएको थियो। आगलागीको कारण खुल्न नसकेको भए पनि चुलो वा आगोको झिल्काबाट आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

आगलागीबाट भएको कुल क्षतिको विवरण संकलन कार्य जारी रहेको स्थानीय प्रशासनले जनाएको छ। घटनापछि प्रभावित परिवारहरू खुला आकाशमुनि बस्न बाध्य भएका छन्। स्थानीयवासी तथा जनप्रतिनिधिले पीडित परिवारका लागि तत्काल राहत र आवासको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

Next Post

सल्यानमा बहुप्रतीक्षित ब्लड बैंक सेवा सुरु

११ पुष २०८२, शुक्रबार ०८:४४
सल्यान । जिल्ला अस्पताल सल्यानमा बहुप्रतीक्षित ब्लड बैंक सेवा आजबाट औपचारिक रूपमा सुरु भएको छ। ब्लड बैंक स्थापनाका लागि आवश्यक थप सामग्री सल्यान आइपुगेपछि सेवा सञ्चालनमा ल्याइएको हो। रगत अभावकै कारण उपचारमा समस्या झेल्दै आएका सल्यानी नागरिकका लागि यो सेवा जीवनरक्षक उपलब्धि भएको सरोकारवालाहरूले बताएका छन्। विशेषगरी सल्यानी युवाहरूको सक्रियता, […]

सम्बन्धित शीर्षक