अपडेट

कार्यसम्पादन करारमा हस्ताक्षर गर्दै मन्त्री खड्काको निर्देशन– ‘विगतभन्दा फरक र परिणाममुखी काम गर्नुहोस्’

  ।   २८ आश्विन २०८३, बुधबार १५:४३

सुर्खेत । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले मन्त्रालयका सचिव तथा महाशाखा प्रमुखहरूलाई आफ्नो जिम्मेवारी पूर्ण रूपमा निर्वाह गर्दै विगतको भन्दा फरक र परिणाममुखी काम गर्न निर्देशन दिनुभएको छ।

मन्त्रालयमा आयोजित कार्यसम्पादन करार सम्झौता तथा बडादसैँको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री खड्काले मन्त्रालयको जिम्मेवारी र कार्यक्षेत्रलाई गम्भीरतापूर्वक बुझेर तोकिएका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो।

उहाँले कार्यसम्पादनलाई औपचारिकतामा सीमित नराखी नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी नतिजा दिनुपर्नेमा जोड दिनुभयो। मन्त्रालयअन्तर्गतका कार्यक्रमलाई प्रभावकारी बनाउँदै विकास, सुशासन, रोजगारी सिर्जना, उत्पादन वृद्धि र प्राकृतिक स्रोतको दिगो उपयोगमा केन्द्रित भएर काम गर्न उहाँले कर्मचारीहरूलाई आग्रह गर्नुभयो।

मन्त्री खड्का र मन्त्रालयका प्रदेश सचिव अजीत कुमार कर्णबीच आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन करार सम्झौता गरिएको छ। सम्झौतामा मन्त्रालयको वार्षिक नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउँदै निर्धारित लक्ष्य हासिल गर्ने विषयलाई प्राथमिकता दिइएको छ।

सम्झौताअनुसार उद्योग तथा वाणिज्य प्रवर्द्धन, पर्यटन विकास, वन तथा जैविक विविधता संरक्षण, वातावरण व्यवस्थापन, जलाधार संरक्षण, जलवायु परिवर्तन अनुकूलन, सीप विकास तथा रोजगारी सिर्जना र सुशासन प्रवर्द्धनका कार्यक्रम कार्यान्वयन गरिनेछ।

उद्योग तथा उद्यमशीलता विकासतर्फ नवप्रवर्तनकारी उद्यमीलाई बीउ पुँजी, ब्याज अनुदान र प्रविधि सहयोग उपलब्ध गराउने, स्टार्टअप फन्ड तथा बिजनेस इन्क्युबेसन सेन्टर स्थापनाका लागि पहल गर्ने, स्थानीय उत्पादनको बजारीकरणमा सहयोग गर्ने र साना तथा मझौला उद्योगको प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।

त्यस्तै, पर्यटन क्षेत्रको विकासका लागि रारा ताल, काँक्रेविहार, बुलबुले उद्यान, कुपिण्डे दह र स्यार्पु ताललगायतका प्रमुख पर्यटकीय गन्तव्यको संरक्षण तथा विकासका लागि गुरुयोजना कार्यान्वयन, पर्यटन पूर्वाधार निर्माण, पर्यटक गाइडबुक प्रकाशन तथा पर्यटनसम्बन्धी सूचना प्रणाली विकासलाई प्राथमिकतामा राखिएको छ।

वन तथा वातावरण क्षेत्रतर्फ सामुदायिक वनको दिगो व्यवस्थापन, वन डढेलो नियन्त्रण, जडीबुटीको संरक्षण तथा व्यावसायिक उत्पादन, वन पैदावारमा आधारित उद्योगको प्रवर्द्धन, जैविक विविधता संरक्षण र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिने सम्झौतामा उल्लेख छ। साथै, जलाधार तथा सिमसार क्षेत्रको संरक्षण, पानीका मुहान पुनर्जीवन, जलवायु परिवर्तन अनुकूलन र भूक्षय नियन्त्रणका कार्यक्रमसमेत अघि बढाइनेछन्।

रोजगारी सिर्जना तथा सीप विकासतर्फ स्थानीय कच्चा पदार्थ र बजारको मागमा आधारित तालिम सञ्चालन, युवा उद्यमीलाई सहुलियतपूर्ण कर्जा तथा ब्याज अनुदानका कार्यक्रम र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको सीप तथा पुँजीलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्ने लक्ष्य राखिएको छ।

कार्यसम्पादन करारमा सम्झौताअनुसारका कार्यक्रमको मासिक, त्रैमासिक तथा वार्षिक प्रगति विवरण तयार गरी मन्त्रालयमा पेस गर्ने व्यवस्था गरिएको छ। मन्त्रालयका सचिवले मातहतका डिभिजन वन कार्यालय तथा उद्योग र उपभोक्ता हित संरक्षणसम्बन्धी कार्यालयसँग समेत कार्यसम्पादन करार गरी कार्यक्रमको कार्यान्वयन र प्रगतिको अनुगमन गर्नुपर्नेछ।

कार्यक्रममा मन्त्री खड्काले निर्धारित जिम्मेवारीलाई समयमै पूरा गर्दै मन्त्रालयको कार्यसम्पादनमा सुधार ल्याउन कर्मचारीहरूलाई शुभकामना दिनुभयो। सो अवसरमा बडादसैँको शुभकामना आदानप्रदान गर्दै आपसी सहकार्य, समन्वय र जिम्मेवारीबोधका साथ प्रदेशको विकासमा योगदान गर्नसमेत आग्रह गरिएको हो।

Next Post

गुडिरहेको फोर्स गाडीमा आगलागी

२८ आश्विन २०८३, बुधबार १५:४३
कालीकोट। कालीकोटको खाँडाचक्र नगरपालिका–१ स्थित जिल्ला अस्पताल नजिकै गुडिरहेको फोर्स गाडीमा आगलागी हुँदा गाडी पूर्ण रूपमा जलेर नष्ट भएको छ। सुर्खेतबाट जुम्लातर्फ जाँदै गरेको गाडीमा आगलागी भए पनि चालकको सतर्कताका कारण यात्रुहरूलाई समयमै बाहिर निकालिएकाले मानवीय क्षति हुन पाएन। प्रहरीका अनुसार भे १ ख ४०९४ नम्बरको फोर्स गाडी उकालो चढ्ने […]