कालिकोट । कर्णाली जेसीज शाखा कालिकोटको आयोजनामा विजया दशमी, शुभ दिपावली तथा छठ पर्व–२०८२ सालको पावन अवसरमा एक भव्य शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली समाजका महान पर्वलाई एकता, सद्भाव र आपसी मेलमिलापका आधारका रुपमा लिँदै हरेक वर्ष आयोजना हुँदै आएको यस कार्यक्रममा यस वर्ष पनि स्थानीय सरोकारवाला निकाय, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, जनप्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा नागरिक समाजको उत्साहजनक उपस्थिति रहेको थियो ।
कर्णाली जेसीज शाखा वर्ष २०२५ का अध्यक्ष जेसी खगेन्द्र पाण्डेको सभाध्यक्षता तथा कालिकोटका प्रमुख जिल्ला अधिकारी गोकर्ण राज सुव्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा भूमिआयोग कालिकोटका अध्यक्ष विष्णु बहादुर शाही, जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख हिमबहादुर खत्री, राष्ट्रिय अनुसन्धान विभाग कालिकोटका प्रमुख ठाकुर प्रसाद केसी, सशस्त्र प्रहरी बल कालिकोटका प्रमुख दिपक चन्द, सामाजिक विकास कार्यालय कालिकोटका प्रमुख अविराज शाही, पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज विष्ट, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, कर्णाली जेसीज २०२५ का बोर्ड सदस्यहरू लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा विशेष अतिथिहरूले नेपाली समाजमा पर्वहरूले ल्याउने सामाजिक ऐक्यबद्धता, सौहार्द र सांस्कृतिक समृद्धिका बारेमा धारणा राखेका थिए । उनीहरूले समाजलाई सकारात्मक बाटोतर्फ उन्मुख गराउन यस्ता पर्वले महत्वपूर्ण भूमिका खेलेको भन्दै पर्वलाई आत्मसात गर्दै समाजिक सद्भाव, भाईचारा र आपसी सहयोगलाई अझ मजबुत बनाउन आग्रह गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी सुव्यालले शुभकामना मन्तव्य दिँदै पर्वले दिने एकताको सन्देशलाई व्यवहारमा उतार्न सबै क्षेत्रका सरोकारवालालाई आह्वान गरे । उनले जिल्ला प्रशासन सधैं नागरिक सेवामा तत्पर रहने बताए । सोही क्रममा अन्य वक्ताहरूले समेत विजयादशमी, शुभ दीपावली र छठ पर्वले नेपाली समाजमा ल्याउने धार्मिक, सांस्कृतिक र सामाजिक महत्वबारे प्रकाश पार्दै शुभकामना प्रकट गरेका थिए ।
कार्यक्रमलाई कर्णाली जेसीज कालिकोट वर्ष २०२० का अध्यक्ष जेसी सबिन कुमार विष्टले आकर्षक ढङ्गले सञ्चालन गरेका थिए ।
जेसीज परिवारले यस किसिमको कार्यक्रमले समाजलाई अझ संगठित र सकारात्मक दिशातर्फ अघि बढाउन टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।







