अपडेट

गुडिरहेको फोर्स गाडीमा आगलागी

  ।   २८ आश्विन २०८३, बुधबार २०:५१

कालीकोट। कालीकोटको खाँडाचक्र नगरपालिका–१ स्थित जिल्ला अस्पताल नजिकै गुडिरहेको फोर्स गाडीमा आगलागी हुँदा गाडी पूर्ण रूपमा जलेर नष्ट भएको छ। सुर्खेतबाट जुम्लातर्फ जाँदै गरेको गाडीमा आगलागी भए पनि चालकको सतर्कताका कारण यात्रुहरूलाई समयमै बाहिर निकालिएकाले मानवीय क्षति हुन पाएन।

प्रहरीका अनुसार भे १ ख ४०९४ नम्बरको फोर्स गाडी उकालो चढ्ने क्रममा इन्जिन तातिएपछि धुवाँ निस्किएको थियो। धुवाँ देखेपछि चालकले तत्काल गाडीमा सवार यात्रुहरूलाई ओराल्न थालेका थिए। यात्रुहरूलाई बाहिर निकाल्ने क्रममा अचानक आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी हिमबहादुर खत्रीले जानकारी दिनुभयो।

आगलागीका कारण गाडी पूर्ण रूपमा जलेर नष्ट भएको छ भने गाडीभित्र रहेका सामानसमेत जलेका छन्। चालकले समयमै यात्रुहरूलाई बाहिर निकाल्न थालेकाले ठूलो मानवीय दुर्घटना हुनबाट जोगिएको प्रहरीले जनाएको छ।

घटनाको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कालीकोटबाट प्रहरी वरिष्ठ नायब निरीक्षक धनबहादुर राना क्षेत्रीको कमान्डमा १५ जनाको प्रहरी टोली आगो निभाउने उपकरणसहित घटनास्थलमा पुगेको थियो। प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

गुडिरहेको यात्रुवाहक गाडीमा आगलागी भएपछि केही समय घटनास्थलमा त्रासको वातावरण सिर्जना भएको थियो। यद्यपि, यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएकाले सम्भावित ठूलो दुर्घटना टरेको छ।

आगलागीबाट गाडी र त्यसमा रहेका सामानमा ठूलो क्षति पुगे पनि कुनै मानवीय क्षति नभएको प्रहरीले पुष्टि गरेको छ।

Next Post

कालीकोट कांग्रेसको जिल्ला सभापतिमा विष्ट सहित नयाँ नेतृत्व सर्वसम्मत

२८ आश्विन २०८३, बुधबार २०:५१
कालीकोट । नेपाली कांग्रेस देउवा पक्षले कालीकोटमा जिल्ला अधिवेशन सम्पन्न गर्दै नगेन्द्रबहादुर विष्टलाई जिल्ला सभापतिको जिम्मेवारी दिएको छ। सभापति पदमा विष्टलाई सर्वसम्मत चयन गरिएको हो। जिल्ला सभापतिका लागि विष्टलाई पार्टीभित्र सहमति कायम गर्दै संगठनलाई थप सुदृढ बनाउने उद्देश्यले नेतृत्व चयनमा सर्वसम्मतिको बाटो रोजिएको जनाइएको छ। अधिवेशनबाट जिल्ला कार्यसमितिको उपसभापतिमा केशरसिंह […]