सुर्खेत। कालिकोटमा गम्भीर सवारी दुर्घटनामा परेका घाइतेलाई लिएर फर्किंदै गरेको नेपाली सेनाको उद्धार हेलिकप्टरले प्रतिकूल मौसमका कारण सुर्खेतको बड्डीचौरमा आपतकालीन अवतरण गरेको छ।
शनिबार दिउँसो खाडाचक्र नगरपालिका–१, कालिकोटस्थित जुम्ला–कालिकोट सडकखण्डमा एक जिप दुर्घटनामा परेको थियो। उक्त सवारीमा सवार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत चिकित्सक डा. रुवी थापा र पाल्पाकी कल्पना नेपाल आचार्य घाइते भएका थिए।
पोखरा महानगरपालिका–२९ की डा. थापा र कल्पना नेपाल आचार्य दुवैजना जुम्लाबाट सुर्खेततर्फ आउँदै थिए। उनीहरू चढेको गाडी अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खस्दा दुबै गम्भीर घाइते भएका थिए। प्रहरीको टोलीले तत्कालै उद्धार गरी उनीहरूलाई कालिकोट जिल्ला अस्पतालमा पुर्याएको थियो।
डा। थापाको अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत हुँदै नेपालगञ्ज लगिने व्यवस्था मिलाइएको थियो। तर, सुर्खेत क्षेत्रमा लगातारको वर्षाका कारण मौसम बिग्रँदा हेलिकप्टरले सुर्खेत विमानस्थलमा अवतरण गर्न सकेन। त्यसैले हेलिकप्टरले बराहताल गाउँपालिका–५ को बड्डीचौरस्थित खेलमैदानमा सुरक्षित आपतकालीन अवतरण गरेको हो।
मौसमको प्रतिकूलताका कारण थप ढिलाइ हुन नदिन घाइतेहरूलाई सुर्खेतको वीरेन्द्रनगरबाट पठाइएको एम्बुलेन्समार्फत नेपालगञ्ज लैजाने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।