सुर्खेत। अन्ततः कक्षा १२ को बहुप्रतीक्षित नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ परीक्षा परिणाम सार्वजनिक गरेको हो।
गत वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको परीक्षा देशभरका करिब ५ लाख ११ हजार ५२५ विद्यार्थीले दिएको बोर्डले जनाएको छ। तीमध्ये ३ लाख ९५ हजार ९०८ जना नियमिततर्फका र १ लाख १५ हजार ६१७ जना आंशिक परीक्षार्थी थिए।
यस वर्ष शिक्षक महासंघको आन्दोलनका कारण परीक्षा १० दिन ढिलो गरी सञ्चालन गरिएको थियो। बोर्डले सुरुमा वैशाख ११ गतेदेखि परीक्षा गराउने तयारी गरेको भए पनि आन्दोलनका कारण कार्यक्रम पछि सरेको थियो।
विद्यालय तहको अन्तिम मानिने कक्षा १२ को नतिजा प्रकाशित भएसँगै विद्यार्थीहरू अब उच्च शिक्षाको तयारीतर्फ लाग्नेछन्।







